समाज


कोरोना संक्रमितको उपचार गर्ने डाक्टर भन्छन्ः नयाँ बिरामीबारे हामीलाई समयमै जानकारी दिइँदैन

कोरोना संक्रमितको उपचार गर्ने डाक्टर भन्छन्ः नयाँ बिरामीबारे हामीलाई समयमै जानकारी दिइँदैन

नेपालखबर
चैत १२, २०७६ बुधबार १०:०,

कोरोना भाइरस संक्रमितहरुको उपचार गरिरहेको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरुले संक्रमित व्यक्तिको बारेमा आफूहरुलाई समयमै जानकारी नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

नेपालमा तेस्रो व्यक्ति संक्रमित भएको खबर बुधबार स्वास्थ्य मन्त्रालयबाटै बाहिरिएको थियो। खाडी मुलुकबाट आएका ती व्यक्ति टेकु अस्पतालमै उपचार गराइरहेका छन्।

टेकु अस्पतालका चिकित्सकहरुले भने सञ्चार माध्यमहरुबाट आफुहरूले जानकारी पाएको दाबी गरे।

टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले भने स्वस्थ्य निकायहरुबीच समन्वयको अभावको कारण काम गर्न अफ्ठ्यारो भएको नेपालखबरलाई बताए।

‘तेस्रो संक्रमितको बारेमा सुरुमा हामीले सञ्चार माध्यमबाट थाहा पायौं। हामी नमुना संकलन गरेर पठाउँछौं। बिरामी यहीँ हुन्छन्। हामीले थप सावधानी अपनाउनु पर्ने हुन्छ,’ राजभण्डारीले भने, ‘तर हामीलाई समयमै जानकारी गराइँदैन।’

समन्वय राम्रो नहुँदा अस्पतालका चिकित्सकहरु असन्तुष्ट रहेको पनि उनले बताए।

‘समन्वयको अभावमा काम गर्न अफ्ठ्यारो हुन्छ। अन्य डाक्टर साथीहरु पनि असन्तुष्ट हुनुहुन्छ,’ उनले भने।

यसअघि फ्रान्सबाट कतार हुँदै आएकी युवतीको कोरोना चेकजाँचको सवालमा पनि यस्तै भएको उनको गुनासो छ।

‘यस्तो महत्वपूर्ण सूचना रोकेर राख्दा हामी र हाम्रो परिवारको जीवन जोखिममा पर्न सक्छ,’ उनले थपे, ‘सूचना र उपचार प्रक्रियालाई व्यवस्थित पारियोस्।’

खाडी देशबाट नेपाल आएका एक युवा कोरोना भाइरसबाट संक्रमित भएको राष्ट्रिय प्रयोगशालाले मंगलबार राति पत्ता लगाएको थियो। स्वास्थ्य मन्त्रालयले बुधबार आफ्नो वेबपेजमा राखेर यसबारे जानकारी दिएको थियो।

त्यसपछि उपचारमा संलग्न टेकु अस्पतालका चिकित्सकहरुले आफूहरुलाई समयमै जानकारी नदिइएको भन्दै अस्पतालको कार्यालय घेराउ गरेका थिए।

तेस्रो संक्रमितबारे स्वास्थ्य मन्त्रालयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी गराउने स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .