समाज


लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

नेपालखबर
फागुन १९, २०८१ सोमबार १५:४१, काठमाडौँ

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। बौद्ध अध्ययन सङ्कायअन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो।

विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले आज लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापनाको घोषणा गरे। क्यालिफोर्नियाबाट छोटो अवधिको बौद्ध अध्ययनका लागि आएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदानका लागि आयोजित कार्यक्रममा उनले केही सातामै भर्ना प्रक्रिया सुरु गर्ने बताए।

विश्वविद्यालयले क्यालिफोर्नियामा बौद्ध अध्ययनका शैक्षिक कार्यक्रम सञ्चालनका लागि इन्लाइट इन्टरनेसनल जेन मेडिटेसन सेन्टरसँग सहकार्य सम्झौता गरेको छ। सोही सेन्टरबाट छोटो अवधिको शैक्षिक कार्यक्रमका लागि २५ जना विद्यार्थी लुम्बिनी आएका हुन्। उनीहरुले दुई क्रेडिटको कक्षा लिएका छन्।

त्यसअवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले अन्तरराष्ट्रिय सम्बन्ध विस्तारका लागि ४० भन्दा बढी संस्थाहरुसँग सहकार्य सम्झौता गरी अघि बढेको बताए। अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको घोषणाअनुसार स्थापित भएको विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि अध्ययन केन्द्रहरु स्थापना गर्दै जाने बताए।

बौद्ध अध्ययन सङ्कायका डिन डा माणिकरत्न शाक्यले छोटो अवधिको शैक्षिक कार्यक्रममा विदेशी विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए। अमेरिकाका विद्यार्थीहरुले बौद्ध अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय रोजेको भन्दै उनले धन्यवाद दिनुभयो। यसअघि चिनियाँ विद्यार्थीको टोलीले छोटो अवधिको बौद्ध अध्ययन गरेको थियो।

इन्टरनेसनल जेन मेडिटेसन सेन्टर क्यालिफोर्नियाकी प्रमुख भिक्षुणी ज्यु नेले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा आफूहरु उत्साहित भएको बताए। बौद्ध शिक्षाको विकासका लागि आफूहरुले सहकार्यमा काम गर्दै जाने बताए।

छोटो अवधिको शैक्षिक कार्यक्रम सञ्चालनमा सहजीकरण गरेका विश्वविद्यालयका सहप्राध्यापक डा सागर न्यौपानेले छोटो अवधिका कार्यक्रममा विदेशी विद्यार्थीहरुको आकर्षण देखिएको बताए। भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न आउने अध्येताहरुले छोटो अवधिको शैक्षिक कार्यक्रम लिन सक्ने भएकाले यसले फाइदा हुने उनले बताए।

विश्वविद्यालयले बौद्ध अध्ययन सङ्कायअन्तर्गत विभिन्न छोटो अवधिका शैक्षिक कार्यक्रमहरु घोषणा गरेको छ। तीन दिनदेखि १५ दिनसम्मका शैक्षिक कार्यक्रमहरु प्राज्ञिक परिषद्बाट स्वीकृत गरी लागू गरिएको डिन शाक्यले बताए। व्यक्तिगत तथा समूहगत रुपमा छोटो अवधिको बौद्ध अध्ययन गर्न सकिने उनले बताए। 

बौद्ध अध्ययन, लुम्बिनीको चिनारी, विपश्यना ध्यानसहितको पाठ्यक्रम डिजाइन गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad