ad ad

समाज


येशुका नाममा कोरोनाबारे भ्रम फैलाउने पादरी पक्राउ

येशुका नाममा कोरोनाबारे भ्रम फैलाउने पादरी पक्राउ

नेपालखबर
चैत ११, २०७६ मंगलबार ७:२३,

कोरोना त्रास फैलिरहेको मौका छोपी नागरिकलाई भेला गरेर भ्रामक सन्देश दिने पादरी (पास्चर) पक्राउ परेका छन्।

जुम्लाका केशवराज आचार्यलाई पोखराबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

सोमबार राति उनलाई पोखरा महानगरपालिकाको सिसवा क्षेत्रबाट पक्राउ गरिएको हो।

पोखरा चिप्लेढुंगास्थित निभा गल्लीमा रहेको प्रशस्त कटनी मण्डलीमा आवद्ध केशव आचार्यले सार्वजनिक गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

येशु ख्रिष्टको सन्देश भएको दाबी गर्दै भिडियोमा उनले भनेका छन्, ‘हाम्रो वरपर ११ हजार मरे पनि हाम्रो नजिक त्यो(कोरोना) आउँदैँन। हामी पूर्णरुपमा येशु ख्रिष्टबाट सुरक्षित छौं। संसार ग्रसित भएपनि हामी चम्कन्छौं। हाम्रो नागरिकता स्वर्गको छ।’

‘कोरोना भन्ने भाइरस दुष्ट आत्मा, संसारबाट आयो। जहाँबाट आएता पनि यशुको नाममा घुँडा टेक्नुपर्छ। हरेकले यशुको नाममा घुँडा टेक्नुपर्छ अनि हामी विश्वासीलाई छुन मिल्दैन,’ उनको थप दाबी छ।

कोरोना(कोभिड–१९)बारे आचार्यले फैलाएका भ्रममा कुनै आधार छैन किनभने हालसम्म कोरोनाको निश्चित औषधि समेत पत्ता लागिसकेको छैन।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस मानिसहरुबीचको नजिकको सम्पर्कबाट सर्ने गरेको पुष्टि गरेको छ।

आफूलाई मोटिभेसनल स्पिकर भनि चिनाउँने केशबको मोबाइल नम्बर भने भिडियो सार्वजनिक गरेपछि बन्द गरिएको छ।

भिडियो बनाउन आफ्नो पनि संग्लनता रहेको स्वीकार गर्ने मन्जिल श्रेष्ठले केहि दिनअघि उक्त भिडियो प्रार्थनाका बेला बनाइएको बताए।

‘कोरोना भाइरसबाट सचेत गराउनलाई सबै मिलेर यो भिडियो बनाएका हौं,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘येशुको प्रार्थना गरेपछि कोरोना भाइरस निको हुन्छ भन्ने विश्वासले भिडियो बनाएका हौं।’

उनका अनुुसार २०–२५ जनाले प्रार्थना गरिरहेका बेला उक्त भिडियो बनाइएको हो। भिडियोमा अफवाह फैलाउने केशब ३ वर्षअघिदेखि पादरीका रुपमा उक्त मण्डलीमा आवद्ध रहेको उनले बताए।

अफबाह फैलाउनलाई के हुन्छ कारवाही?
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ ‘सार्वजनिक शान्तिविरुद्धका कसूर’ मा अफबाह फैलाउन नहुने उल्लेख छ।

संहिताको दफा ७० को उपदफा १ मा ‘कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबीच सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन’ भनि उल्लेख छ।

सोही दफाको उपदफा दुईमा सो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ।

कास्की प्रहरीले भने उक्त भिडियो हेरेपछि अफवाह अथवा साइबर अपराधसँग जोडेर मुद्दा चलाउन सकिने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .