नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) को कार्यकर्ता बताउने एक जना काठमाडौँमा चन्दा उठाएको आरोपमा पक्राउ परेका छन्। खोटाङको खोटेहाङ गाउँपालिका ८ का ३९ वर्षीय भरतकुमार राईलाई मंगलबार प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरेको हो।
दिउँसो साढे ४ बजेतिर काठमाडौँ महानगरपालिका ३१ नयाँबानेश्वरस्थित पञ्चकुमारी मार्गबाट पक्राउ गरेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
उनले आफू नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) को कार्यकर्ता हुँ भनि विभिन्न स्थानमा चन्दा रकम माग गरेको प्रहरीको दाबी छ। उनीविरुद्ध यसअघि पनि प्रहरी वृत्त नयाँ बानेश्वरबाट हात हतियार खरखजना, बैंकिङ कसुर, विस्फोटक पदार्थ सम्बन्धि कसुर र डाँका सम्बन्धि कसुुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको अभिलेखमा भेटिएको छ।
उनको साथबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) लेखेका पर्चा पम्प्लेटहरु, पार्टीका लेटरप्याडमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने व्यहोरा लेखिएका पत्रहरु, स्पष्टिकरण सोधिएका पत्रहरु, खालि लेटरप्याड, न्याय पाउँ भन्ने कविता नेपाली र प्रविण नेपालीको निवेदन, पार्टीका प्रेस विज्ञप्ति, छाप र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (विद्रोही) लेखेका सहयोग रसिद दुई ठेली बरामद भएको एसपी बोहराले बताए।
Shares

प्रतिक्रिया