भारतको उडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युबारे जाँचबुझ गर्न उच्चस्तरीय समिति गठन गरिएको र उक्त समितिको निष्कर्षका आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने नेपालस्थित भारतीय दूतावासले बताएको छ।
मंगलबार साँझ दूतावासले एक विज्ञप्ति जारी गरी उक्त घटनाको छानबिनमा भारत सरकारका सबै निकायले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी पनि दिएको छ। प्रकृतिको मृत्यु र सम्बन्धित घटनाक्रमको सम्बन्धमा ओडिशा सरकारका अधिकारीहरू र केआईआईटीसँग निरन्तर सम्पर्क गरिरहेको पनि काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ।
विज्ञप्तिमा लेखिएको छ, ‘ओडिसा राज्य सरकारले केआईआईटी लाई सूचनामा राखेको छ र गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको छ। उच्चस्तरीय समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिनेछ।’
विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारको रिपोर्टको पनि अनुसन्धान भइरहेको छ र जिम्मेवार व्यक्तिहरूलाई कानुनअनुसार जवाफदेही बनाइने दूतावासले भनेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा सरकारले नेपाली विद्यार्थीहरूसहित सबै विद्यार्थीहरूको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। छिटो र निष्पक्षरूपमा न्याय प्रदान गर्न आवश्यक सबै कदम चाल्नेछ।’
सहयोगको आवश्यकता परेका नेपाली विद्यार्थीहरूले ओडिशा प्रहरीको २४सै घण्टा चल्ने हेल्पलाइन नम्बर +९१-८२८०३३८३०१ मा सम्पर्क गर्न सक्ने जानकारी दूतावासले दिएको छ।
‘ओडिशा राज्य सरकारले यस विषयमा जानकारी लिएको छ र यसमा संलग्न सुरक्षा गार्डहरूलाई पक्राउ गर्न र गल्ती गर्ने अधिकारीहरूलाई निलम्बन गर्न कदम चालेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘भुवनेश्वरको प्रहरी आयुक्तालयले अभियुक्त विद्यार्थी विरुद्ध फौजदारी मुद्दा दर्ता गरिएको र उनलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको जानकारी दिएको छ। ओडिशा प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको छ। ओडिशा प्रहरीले केआईआईटी सुरक्षाकर्मीहरूले विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको बारेमा ध्यान दिनुका साथै उनीहरूमाथि फौजदारी मुद्दा दर्ता गरेको छ।’
केआईआईटीले 'अनिश्चितकालीन' आदेश फिर्ता लिएको र नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन तथा आफ्नो कक्षा पुनः सुचारु गर्न अपिल गरेको भन्दै दूतावासले यसबाट नेपाली विद्यार्थीहरूको स्वदेश फर्कन सहज बनाउन क्याम्पसमा २४सै घण्टा सञ्चालन हुने कन्ट्रोम रूम स्थापना गरेको जानकारी समेत दिएको छ।
‘केआईआईटीले दुई सुरक्षा गार्डहरूको सेवा पनि समाप्त गरेको छ र दुई वरिष्ठ छात्रावास अधिकारीहरूलाई निलम्बन गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ अधिकारीलाई अनुसन्धानको लागि विचाराधीन सोधपुछ गरेको छ,’ दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘केआईआईटीका उपकुलपतिले आफ्ना कर्मचारीहरूको टिप्पणी र व्यवहारको लागि खेद व्यक्त गर्दै सार्वजनिक माफी मागेका छन् र सबै नेपाली विद्यार्थीहरूलाई नियमित शिक्षामा सामेल हुन अपिल गरेका छन्। भारत सरकारले भारतमा रहेका नेपाली विद्यार्थीहरूको कल्याण सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्नेछ।’

Shares

प्रतिक्रिया