समाज


प्रकृतिको मृत्युमा परराष्ट्रको विज्ञप्ति: निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनेमा विश्वस्त छौँ

प्रकृतिको मृत्युमा परराष्ट्रको विज्ञप्ति: निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनेमा विश्वस्त छौँ

नेपालखबर
फागुन ६, २०८१ मंगलबार २०:४१, काठमाडौँ

भारतको उडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युलाई लिएर नेपाल सरकार परराष्ट्र मन्त्रालयले निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने विश्वास व्यक्त गरेको छ।

मन्त्रालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रकृति लम्सालको मृत्युसँग जोडिएका एक जना व्यक्तिलाई पक्राउ गरिएको र स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ। मृत्युको निष्पक्ष छानबिन भई दोषीमाथि कानुनअनुसारको कारबाही हुनेमा विश्वस्त छौँ।’ 

गत फागुन १४ (फेब्रुअरी १६) को बेलुका भारतको उडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो। 

मन्त्रालयले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिर शान्तिको कामना तथा परिवारप्रति समवेदना पनि प्रकट गरेको छ।

यस अकल्पनीय घटनापश्चात् सिर्जित समस्या समाधानका लागि मन्त्रालयले निरन्तर पहल र समन्वय गरिरहेको जनाउँदै मन्त्रालयले सो घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारत सरकार, उडिसा राज्यको मुख्यमन्त्रीको कार्यालय तथा सम्बन्धित शैक्षिक संस्थाका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी समस्या समाधानका लागि पहल गरिरहेको बताएको छ।

‘उक्त शैक्षिक संस्थाले नेपाली विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहारप्रति क्षमायाचना गर्दै त्यस्तो दुर्व्यवहार गर्ने आफ्ना कर्मचारीहरूलाई कारबाही गरेको जानकारी दिएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘साथै, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रावासमा फर्कन र अध्ययनलाई निरन्तरता दिनसमेत अनुरोध गरेको छ। प्रकृति लम्सालको मृत्युसँग जोडिएका एक जना व्यक्तिलाई पक्राउ गरिएको र स्थानीय प्रहरीले मृत्युको अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । मृत्युको निष्पक्ष छानवीन भई दोषीमाथि कानून अनुसारको कारवाही हुनेमा विश्वस्त छौँ।’

उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको सुनिश्चितता र अध्ययनको निरन्तरताका लागि थप समन्वय गर्न नेपाली राजदूतावास, नयाँ दिल्लीबाट दुई जना प्रतिनिधिहरू घटनास्थल पुगी स्थानीय निकाय, उक्त शैक्षिक संस्था र नेपाली विद्यार्थीहरूसँग सम्पर्क तथा समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

साथै, नेपाली राजदूतावास, नयाँ दिल्लीले आवश्यक पर्ने विद्यार्थीका लागि परामर्शको व्यवस्था पनि मिलाएको मन्त्रालयले जनाएको छ।

यस घटनाको समाधानका लागि सहयोग गर्ने भारत सरकार, उडिसा राज्य सरकार तथा सम्बन्धित निकायहरूलाई नेपाल सरकारले धन्यवाद पनि दिएको छ। र, यस घटनाबाट प्रत्यक्ष रूपमा प्रभावित विद्यार्थी, परिवारजन रसरोकारवाला सबैमा धैर्य धारण गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad