समाज


पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा बोर्डिङ स्कुलकी शिक्षिका पक्राउ

विद्यार्थीले आफूलाई काली भनेका र कक्षामा होहल्ला गरेको आक्रोशमा पन्युले डामेको बयान
पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा बोर्डिङ स्कुलकी शिक्षिका पक्राउ

नेपालखबर
फागुन १, २०८१ बिहिबार ९:२२, काठमाडौँ

कक्षा कोठामा होहल्ला गरेको भन्दै पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा तनहुँ प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको छ। 

विद्यार्थीको गालामा पन्यु तताएर डामेको आरोपमा भिमाद नगरपालिकाको भिमाद बजारमा रहेको प्रभात एकेडेमी (बोर्डिङ स्कुल) की शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। 

कक्षामा होहल्ला गरेको भन्दै उनले बुधबार कक्षा चारमा पढ्ने चारजना विद्यार्थीलाई पन्यु तताएर गालामा डामेको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। पक्राउ परेकी शिक्षिकाले भने आफूलाई विद्यार्थीले काली भनेको आक्रोशमा पन्युले डामेको बताएकी छन्। 

‘उनले पन्यु तताएर डाम्दा कक्षा ४ मा अध्ययनरत १० वर्षीय एक बालकको गालामा गहिरो घाउ भएको छ,’ प्रहरी निरीक्षक अधिकारीले नेपालखबरसँग भने, ‘उनले अन्य तीनजना विद्यार्थीलाई पनि त्यसैगरि डामेकी रहिछन्। तर, उनीहरुलाई चाहिँ धेरै चोट लागेको छैन।’ 

कक्षाकोठामा विद्यार्थीले होहल्ला गरेका र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले क्यान्टिनबाट पन्यु तताएर कक्षा कोठामा ल्याएर विद्यार्थीलाई डामेको पाइएको इन्सपेक्टर अधिकारीले बताए। 

कक्षा सातसम्म पढाइ हुने उक्त स्कुलका सञ्चालक कृष्ण श्रेष्ठ हुन्। पक्राउ परेकी सुष्मा उनकी छोरी भएको प्रहरीले जनाएको छ। सुष्माले स्कुलमा विद्यार्थी पढाउनेदेखि एकाउन्टको कामसमेत हेर्दै आएकी थिइन्।  

पक्राउ परेकी शिक्षिकाले आवेशमा आएर आफूले गल्ती गरेको स्वीकारेकी छन्। यो घटनाको विद्यार्थी, अभिभावक र स्थानीयले विरोध गरेका छन्।

पक्राउ परेकी शिक्षिकालाई बुधबारै जिल्ला अदालत तनहुँबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad