समाज


संवैधानिक नियुक्ति विवादको फाइल हराउँदा सर्वोच्चमा खैलाबैला

संवैधानिक नियुक्ति विवादको फाइल हराउँदा सर्वोच्चमा खैलाबैला

नेपालखबर
माघ ३०, २०८१ बुधबार १७:२४, काठमाडौँ

विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तिसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ।

संवैधानिक इजलासले अग्राधिकार दिएको भनिए पनि ४ वर्षदेखि यस विवादको पूर्ण सुनुवाइ नहुँदा सर्वोच्च न्यायालय र यसको नेतृत्वसमेत आलोचनाको तारो बन्दै आयो। 

समयमा निर्णय नभएको कारण नमात्र नभई यस मुद्दाको प्रक्रियागत चरणमा अनेक ‘ट्विस्ट’हरू आउँदा थप रहस्य र चर्चाको विषय पनि बन्यो।

बल्लतल्ल बुधबार सुनुवाइको पालो आयो। तर, बुधबार नै यसैसँग सम्बन्धित अर्को अनौठो घटना सतहमा आएको छ। 

संवैधानिक इजलासमा सुनुवाइ हुने भएपछि मिसिलका पोका फाँटबाट इजलाससम्म लैजानुपर्ने भयो। इजलासमा लैजानुअघि फाइल ठिकठाक छ कि छैन भनेर कर्मचारीहरूले यकिन गर्न खोजे। तर, भयो के भने एउटा फाइल नै गायब रहेछ।

सामान्यतः संवैधानिक इजलासमा पेस हुने प्रत्येक मुद्दामा ५ वटा फाइल बनाइन्छ। पाँचवटै न्यायाधीशले एउटा–एउटा फाइल पाउँछन्। उनीहरूले अध्ययन गर्छन्। इजलासमा बहस हुने क्रममा त्यही फाइलमा रहेर प्रश्न र छलफल गर्छन्।

तर, यसपालि एउटा फाइल नै थिएन।

पाँच न्यायाधीश, चारवटा मात्र फाइल। कर्मचारीहरूलाई आपत् पर्‍यो।

कहाँ गयो त एउटा फाइल?

सम्बद्ध स्रोतका अनुसार, त्यो एउटा फाइल संवैधानिक इजलासमै रहेका एकजना न्यायाधीशले अध्ययनका लागि भन्दै पहिला नै लिएर गएका थिए। ती न्यायाधीश यसअघिको इजलासमा र बुधबारको इजलासमा पनि थिए। तर, उनले फाइल नफर्काउँदा समस्या परेको स्रोतको भनाइ छ।

कर्मचारीहरूले सोधीखोजी गर्दा न्यायाधीशसम्म पनि त्यो प्रश्न पुग्यो। ती न्यायाधीशले जवाफ दिए, ‘फाइल त फाँटमै हुनुपर्ने। मैले पठाइदिएको थिएँ।’

तर, उनले पठाइदिएको भने पनि फाँटमा त्यो फाइल पुगेको थिएन। त्यही कारण एक छिन फाँटदेखि इजलाससम्मै खैलाबैला भयो। ‘चारवटा मात्रै फाइल भएपछि अर्को फाइल फोटोकपी गर्न पठाइयो,’ सर्वोच्चका एक अधिकारी भन्छन्, ‘बल्लतल्ल म्यानेज भयो।’
के न्यायाधीशले पहिला नै फाइल अध्ययन गर्न पाउँछन् त?

ती अधिकारी भन्छन्, ‘सामान्यतः न्यायाधीशले चाहेमा फाँटबाट झिकाएर मिसिल अध्ययन गर्ने चलन छ। तर, मिसिल नै नफर्काउने र यसरी हराउनेसम्मको घटना यसअघि खासै सुनिएको थिएन।’ 

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले भने यसबारे पूरा जानकारी आफूसँग नभएको बताए। उनले भने, ‘सामान्यतः ५ वटै न्यायाधीशलाई मूल मिसिलबाट फोटोकपी दिने गरिन्छ। आज के भएको हो, मैले बुझेर मात्र भन्न सक्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad