समाज


प्रधानमन्त्रीज्यू, त्यो आर्थिक अधिकार उपभोग गर्न पाएनौँ: एनआरएनए अध्यक्ष केसी

प्रधानमन्त्रीज्यू, त्यो आर्थिक अधिकार उपभोग गर्न पाएनौँ: एनआरएनए अध्यक्ष केसी

उद्योग-वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा अध्यक्ष डा केसी


नेपालखबर
माघ ३०, २०८१ बुधबार १२:११, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीको लगानी भित्र्याउन संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार कार्यान्वयन अनिवार्य भएको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार सम्पन्न उद्योग-वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा अध्यक्ष डा केसीले संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न जति छिटो कानुन बन्यो त्यति नै छिटो गैरआवासीय नेपालीका लगानी भित्रिने बताएका हुन्। 

‘नेपालमा लगानी गर्न सबै लालायित छन् तर त्यसका लागि चाहिने कानुनी प्रक्रियामै सबै कुरा अड्किन्छ, सुरुमै कम्पनी खोल्न राष्ट्रिय परिचयपत्र मागिन्छ, अब कानुनमा एनआरएनलाई राष्ट्रिय परिचयपत्रबारे व्यवस्था स्पष्ट छैन, त्यसमा चाहिने हो वा होइन? हो भने कसरी त्यसको कानुनी व्यवस्था पनि हुनुपर्‍योʼ, उनले भने, ‘यी सबै कुरा संविधानले हामीलाई दिएको आर्थिक अधिकारकै विषय हुन्। तर सम्माननीय प्रधानमन्त्रीज्यू त्यो आर्थिक अधिकार हामीले उपभोग गर्न पाएका छैनौँ। यसर्थ सरकारले लगानी भित्र्याउने भन्दै गर्दा संविधानले दिएको अधिकार कार्यान्वयनमा पनि जोड दिनुपर्छ।ʼ

साथै मौजुदा कानुन संशोधन नभई लगानीका लागि निकै कठिन रहेको उल्लेख गर्दै अध्यक्ष डा केसीले संसद्‌मा जारी हिउँदै अधिवेशनबाटै ‘एनआरएन एक्टʼ, अध्यागमन, मालपोत, सम्पत्ति, कम्पनी, बैंक तथा वित्तीयलगायत सम्बन्धित सबै ऐन संशोधन गर्न आग्रहसमेत गरे। 

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कानु  सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार एनआरएनसहित निजी क्षेत्रलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए।

बैठकमा अध्यक्ष डा केसीले विदेशमा रहेका नेपालीको साना तथा मझौला लगानीलाई समेत नेपालमा भित्र्याउने संघको उद्देश्यअनुरूप स्थापित एनआरएन नेपाल डेभलप्मेन्ट फन्डमार्फत सुरुमा १० अर्ब र क्रमशः ५० अर्बसम्म लगानी भित्र्याउने लक्ष्य रहेको बताउँदै कानुनी रूपमा भने आफूहरूलाई सरकारले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए।

उनले विदेशमा पर्यटनदूतजस्तै व्यापारिक दूत नियुक्त गर्न तथा विदेशस्थित राजदूतावासमा आर्थिक विज्ञसमेत अनिवार्य रूपमा नियुक्त गर्न सुझाव दिए। साथै यसै हिउँदे अधिवेशनमार्फत गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि व्यवस्थासमेत लागू गर्न नेपाल सरकारबाट कानुनी तथा नीतिगत सुधार हुने विश्वास व्यक्त गरे। 

परिषद्का अन्य सदस्यले सार्वजनिक-निजी साझेदारीमा सहलगानी तथा सहकार्य, अध्यादेश कार्यान्वयनलगायत विषयमा आफ्ना राय-सुझाव दिएका थिए।

सार्वजनिक-निजी क्षेत्रबीच नियमित संवाद गरी आर्थिक विकासमा सहयोग पुर्‍याउन २०७५ असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम गठन आदेशका आधारमा उक्त परिषद् सञ्चालनमा आएको हो।

परिषद्का सदस्यमा गैरआवासीय नेपाली संघ, नेपाल उद्योग वाणिज्य महासंघलगायतका प्रतिनिधिलाई पनि प्रधानमन्त्रीले हालै मनोनयन गरेपछि परिषद्को बैठक बसेको हो।

गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष डा बद्री केसी यस परिषद्को सदस्य हुन्।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, उद्योगमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad