गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुराँस गाउँपालिका-०६ स्थित भिउचुला देखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको आरोपमा गाउँपालिकाका ६ जना कर्मचारी, वडाअध्यक्ष, ठेकेदारलगायतविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ।
अख्तियारका अनुसार गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढा, इन्जिनियर सरोज दाहाल, सव-इन्जिनियर नविन कुमार वि.सी., लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख अधिकृत छैटौँ मदन प्रकाश मल्लविरुद्ध १० लाख २२ हजार ४१३ रुपैयाँ ८९ पैसा बिगो कायम गरि कैद र जरिवाना सजाय समेत हुन मागदाबी लिइएको छ।
यस्तै, वडा नं ६ का वडा अध्यक्ष हिमबहादुर वली, भिउचुला बगौरा पुलिया सडक स्तरोन्नति कार्य उपभोक्ता समितिका अध्यक्ष गगन सिंह खत्री, सचिव गोविन्द बहादुर वली, कोषाध्यक्ष नन्दा राना र ठेकेदार हिक्मत वलीविरुद्धसमेत सोही बराबरको बिगो कायम गरी कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिएको छ।
भिउचुला बगौरा पुलिया सडक स्तरोन्नति कार्यका अनुगमन समिति संयोजक इन्द्रजित वि.सी., सदस्य हस्ता वि.सी., सदस्य विजय बहादुर वलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।
Shares

प्रतिक्रिया