समाज


९३ मेलमिलापकर्ताले लिए सपथ

९३ मेलमिलापकर्ताले लिए सपथ

नेपालखबर
माघ २५, २०८१ शुक्रबार २०:४, काठमाडौँ

वैदेशिक रोजगार कसुर मुद्दामा मेलमिलापकर्ताको जिम्मेवारी प्राप्त गरेका ९३ जना कानुन व्यवसायी तथा मेलमिलापकर्ताले सपथ लिएका छन्। वैदेशिक रोजगार न्यायाधीकरणले आज यहाँ आयोजना गरेको कार्यक्रममा न्यायाधीकरणका अध्यक्ष गोकर्ण डाँगीले उनीहरूलाई सपथ गराए।

न्यायाधीकरणले गत पुस १ गते सोसम्बन्धी कसुर मुद्दामा मेलमिलापकर्ताका रूपमा काम गर्न सूचीकृत भएका कानुन व्यवसायी तथा मेलमिलापकर्ताको टुङ्गो लगाएको थियो। वैदेशिक रोजगारीमा हुने संस्थागत र व्यक्तिगत ठगीसम्बन्धी मुद्दाको फैसला (वैदेशिक रोजगार विभागबाट सजाय हुने भनी लेखिएका बाहेक) न्यायाधीकरणबाट हुँदै आएको छ।

इजाजतपत्र बिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार विदेश पठाएमा, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा, लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा तथा इजाजत पत्रवालाले व्यक्तिगत रुपमा कामदार पठाएर गठी गरेको मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार क्षेत्र यस न्यायाधीकरणको रहेको छ।

गत आर्थिक वर्ष २०८०÷८१ मा दर्ता भएका कुल तीन सय ८१ मुद्दामध्ये दुई सय २९ फैसला भएका र त्यसमध्ये ५४ वटा मेलमिलापबाट टुङ्ग्याइएको न्यायाधीकरणका रजिष्ट्रार दिनेश आचार्यले जानकारी दिए। चालु आवको पुस मसान्तसम्म गत आवको जिम्मेवारी सरेको एक सय ५२ र नयाँ दर्ता भएका ९९ मुद्दामध्येबाट ९० वटा फैसला भएका र त्यसमा २८ वटा मिलापत्रबाट टुङ्गिएको न्यायाधीकरणले जनाएको छ।

रजिष्ट्रार आचार्यले पीडक र पीडितबीच मेलमिलाप गराएर शीघ्र न्याय दिलाउने र सबैलाई जितको भावना दिलाउने वातावरण बनाउनु मेलमिलापकर्ताको दायित्व रहेको बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad