वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहट घर भएका दीपक आले मगर रहेका प्रहरीले जनाएको छ।
उनलाई ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
यसअघि अदालतमा दायर भएको मुद्दामा उनी प्रतिवादी नरहेकाले हिरासतमा राखेर अनुसन्धान गरेर पुरक अभियोजन लैजाने प्रहरीको तयारी छ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने तीन जनालाई शुक्रबार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ परेका तीनै जनालाई एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
हातपातको आरोपमा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका–१ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५, टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सीतादेवी राईविरुद्ध मुद्दा दर्ता भएको थियो।
महानन्द जैसी राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्ला जिल्लाका उपसभापति हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेका समर्थकले माघ २ गते जिल्ला अदालतको गेटबाहिर त्रिपाठीमाथि हातपात गरेका थिए।
हातपातको अभियोग लागेकाहरूलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिनुपर्ने पनि अभियोग पत्रमा उल्लेख छ।
स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा रवि अदालतमा थुनछेकका लागि हाजिर भएपछि त्रिपाठीले सहकारी पीडितको तर्फबाट बहस गरेका थिए। बहस सकेर निस्कने क्रममा उनीमाथि हातपात भएको थियो।
Shares

प्रतिक्रिया