समाज


रविलाई रिहा गर्न चितवन अदालतले माग्यो ५४ लाख धरौटी

रविलाई रिहा गर्न चितवन अदालतले माग्यो ५४ लाख धरौटी

रवि लामिछाने


नेपालखबर
माघ २४, २०८१ बिहिबार १७:१२, काठमाडौँ

सहारा चितवन सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग गरेको छ। 

न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि बिहीबार रविसँग धरौटी माग गर्ने आदेश दिएको हो। अदालतले माग गरेको धरौटी बुझाए लामिछाने आजै रिहा हुनेछन्। बुधबार बयान सकिए पनि थुनछेक बहस नसकिँदा रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको थियो।

यसअघि बहसका क्रममा सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले रविलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका थिए। 

लामिछानेले अदालतमा बयान गर्दा आफू निर्दोष रहेको दाबी गरेका थिए। गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहेको र कम्पनीमा आफ्नो सेयर रहेको विषयलाई भने उनले स्वीकार गरेका थिए। 

प्रबन्ध निर्देशकको हैसियतबाट चेकमा हस्ताक्षर गरेको र विभिन्न व्यक्ति तथा संस्थालाई दिएको, आफ्नो कार्यकालमा धेरै चेकहरू जारी भएको, ती चेक अध्यक्ष गीतेन्द्रबाबु राईको निर्देशन पालना गरी जारी गरेको बयान उनले दिएका थिए। 

सहप्रतिवादीहरू छविलाल जोशी र कुमार रम्तेलले रवि लामिछानेलाई समेत पोल गरी बयान गरेका थिए। यीसहितका आधारमा रवि लामिछानेको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेको आदेशमा उल्लेख छ।

जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए। जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र गौतम र सुनिता अधिकारीले बहस गरेका थिए। उनीहरूले रविलाई थुनामै राख्न माग गरेका थिए।

तर, रविको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले भने उनलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए।

रविको तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारी, धर्मराज आचार्य, सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू रामचन्द्र देवकोटा र नारायणदत्त कँडेलले बहस गरेका थिए।

रविमाथि सहारा चितवन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। उक्त सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा गोर्खा मिडियामा प्रवाह गरेको भेटिएको छ। सहकारीको रकम कम्पनीमा लैजानु गैरकानुनी रहेको र यसमा रविसँगै छविलाल जोशी बन्जाडे, जीबी राई र कुमार रम्तेलको संलग्नता रहेको दाबी अभियोगपत्रमा गरिएको छ। 

यस मुद्दाका ३२ जना प्रतिवादीमध्ये १२ जनालाई सहकारी ठगीका साथै संगठित अपराधको कसुरमा पनि मुद्दा चलाइएको छ। रविलाई संगठित अपराधमा मुद्दा नचलाउँदा जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल महान्यायाधिवक्ता कार्यालयको छानबिनमा परेका छन्।

यस मुद्दाका अन्य अभियुक्तहरूमा अधिकांश फरार छन्। यस चरणको मुद्दामा अदालतमा हाजिर हुने रवि नै पहिलो प्रतिवादी हुन्। 

यसअघि सहकारी ठगीकै मुद्दामा उनी तीनवटा जिल्ला अदालतबाट पनि धरौटीमै रिहा भएका थिए। कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका लामिछानेलाई काठमाडौँ अदालतले स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख धरौटी लिएर छाडेको थियो। 

त्यसपछि बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा उनलाई रूपन्देही अदालतले एक करोड रूपैयाँ धरौटी माग गरेको थियो। यी तीनवटै जिल्लामा गरी उनले २ करोड २५ लाख रुपैयाँ धरौटी यसअघि नै बुझाइसकेका छन्। 

अब पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको ठगी प्रकरणमा पनि उनीमाथि मुद्दा चलाउने तयारी छ। प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याइसकेको छ। कास्की प्रहरीको हिरासतमा छँदा रविसहितका अभियुक्तलाई वीरगन्ज पुर्‍याएर बयान लिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad