समाज


विद्यार्थीले बनाए डढेलोदेखि चालक निदायको बेला गाडी नियन्त्रण गर्ने नमूना प्रविधि

विद्यार्थीले बनाए डढेलोदेखि चालक निदायको बेला गाडी नियन्त्रण गर्ने नमूना प्रविधि

नेपालखबर
माघ २४, २०८१ बिहिबार १६:१५, काठमाडौँ

माध्यमिक तहमा अध्ययनरत विद्यार्थीले जङ्गलमा आगलागी हुँदा नजिकका घरमा आगलागी फैलन नदिन ‘फायर प्रोटेक्ट’ नमूना घर तथा नियन्त्रण प्रणालीको नमूना प्रविधि प्रस्तुत गरेका छन्।

जङ्गलमा आगलागीका बेला त्यससम्बन्धी सूचना स्वचालित रूपमा मोबाइलमा ‘एसएमएस’ आउने प्रविधिबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका नयाँबजारस्थित ह्वाइटफिल्ड विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा अनसुभा शाहीले बताइन्। यस्तो प्रस्तुति गरेर उनको समूहले नगद रु २५ हजार र ट्रफी प्राप्त गरेको छ।

सामाखुसीस्थित रेडन कलेजले आयोजना गरेको विद्यालयस्तरीय ‘रेडन साइन्स तथा रोबो एक्स्पो’मा उक्त विद्यालयका विद्यार्थीले यस्तो प्रस्तुति गरेका हुन्। मङ्गलबार र बुधबार रेडन कलेज परिसरमा भएको एक्स्पोमा कक्षा ५–१० मा अध्ययनरत विद्यार्थीले बनाएका नमूना प्रतिष्पर्धाका लागि प्रस्तुत गरिएका थिए।

यस्तै, कक्षा ५–७ तर्फ आयोजक रेडन स्कूल विजयी भएको छ। कक्षा ६ मा अध्ययनरत छात्रा प्रिन्सा पाण्डेले आफूहरूले हाइड्रो इलेक्ट्रीसिटीको उच्चतम प्रयोग र पानीलाई लिफ्ट गर्ने प्रविधि विकास गरी कसरी उचाइमा रहेका खेतमा पानी लैजान सकिन्छ भन्ने नमूना प्रदर्शन गरेको बताइन्। यो समूहले नगद रु १५ हजार र ट्रफी हात पारेको छ।

कक्षा ८–१० समूहतर्फ भने ‘स्टे अलट एशिस्ट्यान्स सिस्टम’ नमूना प्रोजेक्ट बनाएका पिपुल्स फ्रेण्डशीप एकेडेमीका विद्यार्थीको समूह विजेता भएको छ। यो समूहले चालकले लगाउने चस्मा बनाएका हुन्। जसमा चालक निदाएमा गाडीको नियन्त्रण त्यसमा जडान गरिएको प्रविधिले गर्ने कक्षा ९ मा अध्ययनरत सच्चित गुप्ताले बताए। यो समूहले नगद रु १५ हजार र ट्रफी हात पारेको छ।

यस्तै, ‘रोब सकर’ प्रतिष्पर्धामा सम्बृद्धि विद्यालयको विद्यार्थी समूह र रोबो रेसमा रेडन स्कूल विजयी भएका थिए। दुवै विजयीले रु १५ हजार नगद र ट्रफी प्राप्त गरेका थिए।

पुरस्कार वितरण कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सचिव डा रविन्द्रप्रसाद ढकालले विद्यालयस्तरीय ‘इनोभेसन कन्सेप्ट’ तथा ‘रोबटिक्स’ प्रविधिको प्रयोगमा प्रतिस्पर्धाले आगामी दिनमा उपयोगी जनशक्ति तयार गराउन कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरे। प्रदर्शनीमा प्रस्तुत नयाँ विचार तथा प्रविधिको दृष्टिकोण आगामी दिनमा सहरी विकास तथा ग्रामीण भेगमा प्रयोग गर्न मिल्ने खालका रहेको उनले सुनाए। डा ढकालले भने, ‘यसमा विद्यार्थीको सीप विकास तथा अनुसन्धानका क्षेत्रमा नास्टले थप भूमिका खेल्नेछ।’

विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीको नमूना मूल्याङ्कन समितिमा रहेका त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका सहप्राध्यापक डा महेशकुमार जोशीले विद्यार्थीको सृजना नवीन तथा उत्कृष्ट रहेका बताए। विद्यार्थीहरूको दृष्टिकोण, सृजनशीलता, प्रस्तुतीकरण र प्रविधिको प्रयोगजस्ता पक्षलाई आधार मानेर मूल्याङ्कन गरिएको उनले बताए।

आयोजक रेडन कलेजका प्राज्ञिक निर्देशक सुनोज कैनीले आगामी वर्ष पनि प्रदर्शनी आयोजना गरिने बताए। प्रदर्शनीले माध्यमिक तहका विद्यार्थीलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा लाग्न प्रेरणा प्रदान गर्ने उनको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad