प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डिजिटल वालेटहरूको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको माधवनारायण गाउँपालिका २ का २१ वर्षीय शुभम साह छन्।
उनी गतवर्ष मात्रै ठगी आरोपमै १० महिना जेल बसेर रिहा भएका थिए। तर, छुटेको एक वर्षभित्रै उनी पुनः ठगेको आरोपमै पक्राउ परेको सीआईबीका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए।
उनी नेपालमा गैरकानुनी क्रिप्टो तथा अनलाइन स्क्याममा संलग्न रहेको सीआईबीको दाबी छ। उनी अरु चार वटा अनलाइन ठगीको मुद्दामा पनि फरार रहेको पाइएको प्रहरीले जानकारी दिएको छ।
साह भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट बस्दै आएका छन्। उनको साथबाट सीआईबीले २ वटा मोबाइल, १४ थान नेपाली सिमकार्ड र २ थान भारतीय सिमकार्ड पनि बरामद भएको छ।
उनले विभिन्न डिजिटल वालेटहरूको आधिकारिक कर्मचारी हुँ भन्दै वालेट आईडी बैंक खातासँग लिंकअप तथा खाता नवीकरण, केवाईसी फारम, स्टेटमेन्ट भेरिफाइ जस्ता काम गरिदिन्छु भन्दै ठगी गरेको खुलेको छ।
यसरी उनले पीडितकै मोबाइल नम्बरमा डिजिटल वालेटका ओटीपी कोर्ड पठाउने र कोड मागेर पहुँच पुर्याउने गरेको पाइएको छ। यसरी ह्याक गरेर उनले विभिन्न बैंक खाताहरूमा रकम ट्रान्सफर गरेको पाइएको छ। अनलाइनबाट ठगी गरेको रकम टेलिग्राम एप मार्फत यूएसडीटी, बिनान्सलगायतको क्रिप्टो करेन्सी साट्न प्रयोग गरेको पाइएको छ।
यस्ता अनलाइन तथा डिजिटल ठगीबाट बच्न आफ्नो खाताको विवरण र ओटीपी कोड कसैलाई पनि नदिन सीआईबीको अनुरोध छ। आर्थिक लाभको प्रलोभनमा परेर अपरिचित व्यक्तिहरूबाट आएको फोन तथा लिंकहरुमा विश्वास नगर्न र आफ्नो विवरण सेयर नगर्न पनि प्रहरीले सूचना जारी गरेको छ।
Shares

प्रतिक्रिया