समाज


बागलुङको काठेखोला गाउँपालिकाद्वारा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

बागलुङको काठेखोला गाउँपालिकाद्वारा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

नेपालखबर
माघ १८, २०८१ शुक्रबार २१:५८, काठमाडौँ

जिल्लाको काठेखोला गाउँपालिकाले यसवर्ष एक हजार ५२ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। नागरिकलाई स्वास्थ्य बिमामार्फत उपचार पुर्‍याउने उद्देश्यले पलिकाका दलित, विपन्न, जनजाती, अपाङ्गता तथा एकल महिलाको निःशुल्क बिमा गरिएको हो।

गाउँपालिकाले तीन वर्षदेखि दुई सयलाई स्वास्थ्य बिमा गराउँदै आएकामा यस वर्षदेखि आठ सय परिवार थप गरी पालिकाभित्रका सबै दलित, विपन्न, अपाङ्गता र एकल महिलालाई निःशुल्क बिमामा आबद्ध गराएको गाउँपालिका कार्यालयले जनाएको छ।

तीन वर्षदेखि रु सात लाख बजेट छुट्याएर आठ वटा वडाका दुई सय परिवारको निःशुल्क बिमा गर्दै आएको पालिकाले यसवर्ष बजेट थप गरी रु ३७ लाख पुर्‍याएको छ। पालिकाका सबै दलित समुदायको स्वास्थ्य बिमा गर्न रु २० लाख, जनजाती, अपाङ्गता र एकल महिलाका लागि रु १० लाख बजेट विनियोजन भएको सूचना अधिकारी मनोज कार्कीले जानकारी दिए।

उनका अनुसार पाँच सय ६० दलित परिवार, दुई सय विपन्न परिवार, एक सय ४२ एकल महिला र ‘ग’ वर्गका अपाङ्गतासहित एक सय ५० विपन्न जनजातीका परिवार बिमाबाट लाभान्वित भएका छन्।

यस वर्षदेखि ‘अध्यक्षसँग दलित नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालन गरी निःशुल्क बिमा गरिएको कार्कीको भनाइ छ।

‘तीन वर्षदेखि दुई सय विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै आएका थियौँ, स्वास्थ्यको निःशुल्क पहुँचले विपन्न परिवारलाई राहत भएको पायौँ। यसवर्षदेखि बजेट थप गरेर अभियानका रूपमा कार्यक्रमलाई अघि बढाएका छौँ। वडाका सबै विपन्न, दलित, जनजाती, एकल महिला, अपाङ्गता भएकालाई बिमामा समावेश गरेका हौँ’, उनले भने।
कार्कीले पालिकाले निःशुल्क स्वास्थ्य अवधारणलाई आमनागरिकसम्म पुर्‍याउने लक्ष्यका साथ लक्षित वर्गको निःशुल्क स्वास्थ्य बिमा गरिएको उल्लेख गरे। उनका अनुसार एकल महिला र अपाङ्गता भएको हकमा पाँच जनासम्मको स्वास्थ्य बिमा हुनेछ।

सङ्घीय सरकारले वृद्ध, ‘क’ र ‘ख’ वर्गका अपाङ्गको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएकाले ‘ग’ वर्गका अपाङ्गलाई परिचयपत्रका आधारमा उक्त कार्यक्रममा आबद्ध गरिएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए। एक हजार परिवारलाई निःशुल्क स्वास्थ्यको पहुँचमा पुर्‍याउनु उल्लेख्य उपलब्धि रहेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad