समाज


शिक्षामन्त्रीको घोषणा : विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पदमै बस्दिनँ

शिक्षामन्त्रीको घोषणा : विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पदमै बस्दिनँ

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८१ बिहिबार १७:४, काठमाडौँ

शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पदबाट बाहिरिने घोषणा गरेकी छन्। बिहीबार नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो प्रदेश परिषद्‌ बैठकलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले यस्तो घोषणा गरेकी हुन्। 

'विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो। सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ,' उनले भनिन्, 'म पदमा बसिरहँदा कुनै पनि कुरा पाउँछु भनेर बसेको छैन, कमाउँछु भनेर बसेको पनि होइन। अब काम गर्न सकिँदैन भन्ने लागेको क्षण पद छोड्न तयार छु।'

उनले आफू राजनीतिमा आउँदा स्थायी प्राध्यापक र जीवन साथी नै गुमाएकोले अहिलेको पद गुमाउँछु भनेर मनमा कतै त्रास नभएको पनि बताइन्।  

भट्टराईले प्रारम्भिक बाल विकास केन्द्रदेखि विश्वविद्यालयसम्म समस्या नै समस्या रहेकाले त्यसको शिकार आफू पनि भएको बताइन्। 

आगामी बजेटबाट प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) र विद्यालय कर्मचारीका तलबलगायत दरबन्दीका समस्या समाधान हुने दाबी भट्टराईले गरिन्।  सामुदायिक विद्यालयमा खानेपानी नि:शुल्क गर्न खानेपानी मन्त्रालयसँग मिलेर कार्यदल बनाएर अध्ययन भइरहेको, विद्यालयमा बिजुली र इन्टरनेट नि:शुल्क गर्न पनि आफूले छलफल अघि बढाएको उनले बताइन्।

शिक्षकको सरूवा सम्बन्धी निर्देशिका संशोधन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेकाले स्थगित भएको उनको गुनासो छ। यस्तै, विदेशी विश्वविद्यालयको सम्बन्धन पाउने कलेजका विषयमा नियमावली बनाउन खोज्दा पनि सर्वोच्च अदालतमा मानहानीको मुद्दा परेको पनि बताइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad