नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिले इच्छाकामना गाउँपालिका–२ हपनीका सहिद सन्तबहादुर चेपाङ र दशरथ चेपाङका परिवारलाई आज सम्मान गरेको छ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, वडाध्यक्ष पञ्चबहादुर चेपाङलगायत चेपाङ समुदायका अगुवाहरुको उपस्थितिमा सम्मान गरिएको हो। राजपत्रमा उल्लेख भएअनुसार सन्तबहादुर र दशरथले विसं २०३४ असार ७ गते सहादत प्राप्त गरेका थिए।
पञ्चायतविरुद्ध चितवनको जुगेडीमा भएको सङ्घर्षमा सामेल हुँदा उनीहरु सहिद भएका थिए। उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय सरकारले २०६५ सालको पुस ९ गते गरेको थियो। सहिद घोषणा गरेपनि उनीहरुको परिवारको शिक्षा स्वास्थ्यलगायत पालनपोषणमा राज्यले कुनै सहयोग नगरेको गुनासो छ।
चेपाङ सहिदको सम्मानका लागि फिस्लिङ– शक्तिखोर सडकलाई चेपाङ सहिदमार्ग राख्नुपर्ने चेपाङ सङ्घको माग रहेको छ। सो अवसरमा बागमती प्रदेशसका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सहिदको परिवारका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए। साथै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रासस
Shares

प्रतिक्रिया