राजनीति


क्रान्तिकारीमा पकडसँगै माओवादीमा जनार्दनको शक्ति विस्तार

क्रान्तिकारीमा पकडसँगै माओवादीमा जनार्दनको शक्ति विस्तार

सागर न्यौपाने
माघ १६, २०८१ बुधबार २२:४, काठमाडौँ

अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा आफ्नो समूहलाई ठूलो जित दिलाएसँगै उपमहासचिव जनार्दन शर्मा माओवादी केन्द्रमा बलिया नेताका रूपमा उदाएका छन्।

माघ १२ गते भएको अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्व छान्ने चुनावमा शर्माले आफूनिकटस्थ विद्यार्थीहरूको प्यानलै उठाएका थिए। जुन प्यानलले अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा बर्चस्व कायम गरेको छ।

शर्माको समूहले अध्यक्षमा जित्न नसके पनि बहुमत उपाध्यक्ष, महासचिव, बहुमत सचिव र कोषाध्यक्षमा जित हात पारेको छ।

अध्यक्षमा भने प्रचण्ड पक्षधर समूहबाट विजयप्रकाश सापकोटा निर्वाचित भएका छन्। शर्मा पक्षका हेमन्त राई झिनो मतान्तरले पराजित हुन पुगे। 

क्रान्तिकारीको केन्द्रीय समितिमा शर्मा पक्षधर प्यानलकै बहुमत कायम भएको छ।  

क्रान्तिकारीका पूर्वअध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ यो सम्मेलनलाई पार्टीकै ‘मिनी महाधिवेशन’का रूपमा हेरिएको बताउँछन्। जसले शर्माको शक्तिमा अझ वृद्धि गरेको छ।

कम उमेरका बहुसंख्यक विद्यार्थी नेता आफ्नो पक्षमा हुनुले जनार्दनको आगामी राजनीतिक यात्रा उकालो लाग्ने संकेत देखाएका उनीनिकट नेताहरूको भनाइ छ।

‘अब तल्लो तहसम्म जनार्दन कमरेडको प्रभाव रहेको पुष्टि भयो,’ केन्द्रीय सदस्य अनिल शर्माले नेपालखबरसँग भने, ‘ किनकि ती विद्यार्थी प्रतिनिधिले मत दिए, जो कुनै न कुनै रूपमा पार्टी संगठन वा माओवादी परिवारसँग जोडिएका छन्।’

सांसद समेत रहेका केन्द्रीय सदस्य सुदन किराती पार्टीका जनवर्गीय संगठनमा चुनाव हुनु नै महत्त्वपूर्ण सफलता भएको बताउँछन्।

‘माओवादी पार्टीभित्र प्रतिस्पर्धाको विधि स्थापित भयो,’ किरातीले नेपालखबरसँग भने। 

उमेर हदमै चुनाव
माओवादी केन्द्रको २०८० फागुन १–३ मा भएको पहिलो विधान अधिवेशनमा शर्माले सबै संगठनको नेतृत्व तेस्रो तहमा दिनुपर्ने प्रस्ताव अघि सारेका थिए। यस्तै, प्रत्यक्ष निर्वाचन विधि अपनाउनुपर्ने उनको अर्काे प्रस्तावले पार्टीभित्र हलचल मच्चाएको थियो। 

उनले अघि सारेका प्रस्तावलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने प्रतिबद्धता जनाए। पार्टीको पुस २१–२३ सम्म बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले जनार्दनले उठाएका केही प्रस्ताव समावेश गरे। 

त्यसपछि क्रान्तिकारीको नयाँ नेतृत्वका लागि उमेर हद लगाउनुपर्ने आवाज उठ्यो। क्रान्तिकारीको नेतृत्व लिन तम्सिएका विद्यार्थी नेता त्यसका विरुद्धमा उभिए। तर, जनार्दनले उमेर हदको पक्ष लिए। यसको छिनोफानो गर्न चुनावै भयो। 

फलस्वरूप ३२ वर्षे उमेर हद पक्षले चुनाव जित्यो।

‘विद्यार्थी संगठनको नेतृत्व नयाँ पुस्तामा लैजाने गरी भएको ३२ वर्षे उमेरहदको निर्वाचन परिणामसँगै नेतृत्व नीतिगत रूपले नयाँ पुस्तामा आइसकेको थियो,’ शर्माले भने।

उमेर हदकै कारण विद्यार्थी राजनीति नयाँ ठाउँमा पुगेको सांसद किराती दाबी गर्छन्। 

‘विद्यार्थीको उमेरहद लागू हुनु नै ऐतिहासिक कार्य हो,’ उनले भने।

३२ वर्षमुनिका विद्यार्थी नेताबीच पहिलो पटक भएको प्रत्यक्ष निर्वाचनमा शर्माले समर्थन गरेका बहुमत बढी विद्यार्थी नेताले जितेको केन्द्रीय सदस्य अनिल शर्माले बताए।

क्रान्तिकारीको सम्मेलनमा जम्मा १९ सय मतदाताले भाग लिएका थिए।

पकड बढाउँदै जनार्दन 
एक वर्षयता शर्माले प्रचण्डसँग लोकतान्त्रिक अभ्यास हुनुपर्ने माग राखिरहेका थिए। क्रान्तिकारीमा भएको चुनावले आफ्नो माग सम्बोधन भई जनमत परीक्षण हुन थालेको उनी बताउँछन्।  

क्रान्तिकारीको नयाँ नेतृत्व निर्वाचित भएलगत्तै फेसबुकमा उनले सो कुरा उल्लेख गरेका छन्। 

‘सोही नीतिका आधारमा प्रत्यक्ष प्रतिस्पर्धा मार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष हो,’ उनले भने, ‘यसको प्रकाशले पूर्ण लोकतन्त्रको पक्षधर माओवादी पार्टी र जन संगठनहरूमा आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न निरन्तर प्रकाश छरिरहने छ।’

अब पार्टीभित्र जनार्दन शर्माले बेग्लै स्थान बनाएको  उनीपक्षीय नेताहरू बताउँछन्।

‘युवा पक्तिमा उहाँको पकड राम्रो रहेको देखायो, भविष्यमा उहाँलाई फाइदै गर्छ। जुन एजेन्डा उहाँले निरन्तर उठाउनुभएको थियो, त्यो प्रयोगसिद्ध भयो,’ केन्द्रीय सदस्य गोविन्द रोकाले भने, ‘उहाँले एक वर्षदेखि उठाउनुभएको एजेन्डा स्थापित र अनुमोदन पनि भयो। उहाँको शक्ति बढ्दो क्रममा हुन्छ। पार्टी रूपान्तर अभियान जारी राख्नुपर्छ।’

कतिपय नेता त अध्यक्ष प्रचण्डलाई कडा टक्कर दिने क्षमता जनार्दनले बनाइसकेको दाबी गर्छन्। 

‘पार्टीको तल्लो तहसम्म उनको बलियो पहुँच विस्तार भएको विद्यार्थी चुनावले देखाएको छ,’ एक पदाधिकारीले भने, ‘विद्यार्थी चुनावले अरुको भन्दा उहाँले संगठित गरेको टिम बलियो देखायो। पार्टी रूपान्तरणमा साथीहरूले मेहनत, वैचारिक संघर्षजस्ता एजेन्डालाई रुचाएका छन्।’

तथापि, एजेन्डामा मात्र उनलाई साथ दिएको बताउनेहरू पनि छन्।

त्यस हिसाबले शर्मालाई अहिले नै बलियो मानिहाल्न नसकिने उपमहासचिव मातृका यादव बताउँछन्।

‘जो जिते पनि पार्टीकै क्रान्तिकारी विद्यार्थीले जितेका हुन्,’ उनले भने, ‘यसलाई साथीहरूले आफ्नो दृष्टिकोणबाट व्याख्या गर्न पाउँछन्। कसको शक्ति बलियो भयो भन्नेतिर नजाऊँ, जे छ पार्टीभित्र छँदैछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad