अमेरिकाले आफ्नो देशमा बस्दै आएका अवैध आप्रवासीको सूची सार्वजनिक गरेको छ। डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेसँगै अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेका थिए। सोहीअनुसार अमेरिकी अध्यागमन कार्यालयले आफ्नो देशमा बसिरहेका अवैध आप्रवासीको संख्या १४ लाख ४५ हजार ५ सय ४९ जना रहेको उल्लेख गरेको हो।
'नोभेम्बर २४, २०२४ सम्म १४ लाख ४५ हजार ५ सय ४९ जना गैरनागरिकहरू भेटिए। जसलाई अमेरिकाबाट हटाउनुपर्नेछ,' अमेरिकी अध्यागमन कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
अमेरिकाबाट निष्कासित हुने सूचीमा नेपालीहरू पनि छन्। त्यहाँस्थित अध्यागमन कार्यालयका अनुसार अमेरिकाबाट निष्कासनमा पर्ने नेपालीको संख्या १ हजार ३६५ छ।
अमेरिकाबाट बाहिरिने आप्रवासीमा सबैभन्दा धेरै होन्डुरसका छन्। होन्डुरसका २ लाख ६१ हजार छ सय ५१ जना अमेरिकाबाट बाहिरिने सूचीमा छन्। त्यस्तै ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन्।
चीनका ३७ हजार ९०८, भारतका १७ हजार ९४० जना, अफगानिस्तानका १ हजार ७०८, बंगलादेशका ४ हजार ८३७ जना, बहराइनका १७ जना छन्।
Shares

प्रतिक्रिया