समाज


बयान फेरेर भ्रष्टाचार मुद्दा कमजोर बनाउने साक्षीमाथि अख्तियारको मुद्दा

बयान फेरेर भ्रष्टाचार मुद्दा कमजोर बनाउने साक्षीमाथि अख्तियारको मुद्दा

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १७:८, काठमाडौँ

घुस मुद्दामा बयान फेरेर मुद्दा कमजोर बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सरकारी साक्षीमाथि नै मुद्दा चलाएको छ।

अख्तियारले अमृता कोइरालालगायत प्रतिवादी भएको घुस मुद्दामा सरकारी साक्षीको रुपमा पेस गरिएका चितवन, भरतपुर महानगरपालिका वडा नं २६ बस्ने नन्दलाल पौडेलविरूद्ध थप मुद्दा दायर गरेको हो।

अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुट दिई सरकारी साक्षीको रुपमा पेस गरिएकोमा पौडेलले विशेष अदालत, काठमाडौँसमक्ष वकपत्र गर्दा बयान फेरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

पौडेलले सञ्चालन गरेको एप्लस मेडिकोबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा औषधी सप्लाई गरेवापत भुक्तानी रकम प्राप्त गर्नको लागि अमृता कोइरालालाई डेढ लाख नगद र साढे ४ लाख चेक गरी जम्मा ६ लाख रुपैयाँ घुस दिएको पाइएको थियो।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर भएको हुँदा पौडेललाई बिगो ६ लाख कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

गत साउन ७ गते बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुस लिँदालिँदै पक्राउ परेकी थिइन्। उनका अनुसार, कोइरालालाई १ लाख ५० हजार रूपैयाँ नगद र ४ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad