खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाएका छन्।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उनले सो प्रतिवद्धता जनाएका हुन्। उनले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्ष भित्रमा पानी खुवाउने प्रतिवद्धता जनाए।
उनले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेण्डर प्रक्रिया अघि बढाउने बताए।
मन्त्री यदवले धरानवासीलाई पानी खुवाउनका लागि करिब ६ अर्ब आवश्यक रहेको भन्दै त्यसका लागि आफूले एडिबीसँग बिहीबार छलफल गरेको जानकारी दिए।
उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टन्टबाजी गरेको आरोप लगाए।
गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने उनको भनाई थियो।
‘यो भन्दा पहिलाको मेयर सावले बहादुरी देखाउनु भयो। बहादुरी के देखाउनु भयो भने खानेपानी मन्त्रालयको जुन नेपाल खानेपानी संस्थान छ। उहाँहरुबाट पानी लिँदिन। म आफैँ सक्षम छु, म आफ्ना जनतालाई आफैँ पानी ल्याएर खुवाउँछु भनेर बहादुरी देखाउनु भयो’ उनले भने, ‘अहिलेको मेयर साव हर्कजीले पानी ल्याउँछु भनेर कुद्नुभयो। कतै कतै पानी त ल्याउनु भयो। एउटा वाडमा पनि पुग्दैन। नपुगेपछि केन्द्रलाई गुहार्नुभयो।’
उनले थपे, ‘त्यहाँ बजेट ठूलो छ। करिव करिव ६ अर्बको बजेट चाहिन्छ। मैले अर्थमन्त्रीजीलाई समन्वय गर्न गएँ। उहाँले एडिबीको ऋण सहयोग धरानमा लागू गर्नुस् र धरानका नागरिकलाई खानेपानीको समाधान गर्नुस्। त्यहाँ जग्गाको समस्या छ। स्थानीय निकायले त्यो गर्छ। हर्क साम्पाङजीको काम जग्गा दिलाउने काम गर्नुपर्छ। त्यो सबै काम भएपछि हामी धरानमा खानेपानीको काम गर्छौं।’
मन्त्री यादवले एक वर्षभित्र धरानमा पानीको समस्या समाधान हुने उनले बताए।
Shares

प्रतिक्रिया