राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतेको तस्वीर खिचेर सार्वजनिक गर्ने निकोलस भुसाललाई ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले शुक्रबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
सो दफामा त्यस्तो कसूर प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
‘प्रतिवादीले आफूले चलाउने गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत् जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजन समेतमा आँच पुर्याउने तथा गोपनियता भंग हुने सामग्री प्रकाशन गरी शान्ति सुरक्षामा समेत प्रभाव पार्ने कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) ऐन अन्तर्गतको कसूर गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी डा निकोलस भुसाल भनिने कमल भुसालले उक्त कार्य गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ को दफा ४७ को उपदफा (१) ले निषेधित कसूर गरेको पुष्टि हुन आयो,’ अभियोगपत्रमा भनिएको थियो।
निकोलस अदालतले माग गरेको धरौटी बुझाएर रिहा भइसकेका छन्। उनलाई कास्की प्रहरीले बिहीबार अभियोग पत्रसाथ पेश गरेको थियो।
अदालतले थुनछेक बाँकी रहेकाले प्रहरीकै जिम्मा लगाएर पठाएको थियो।
भुसालले सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा भेट्न जाँदा उनको तस्वीर खिचेर सार्वजनिक गरेका थिए। भुसाल लामिछानेकै समर्थक हुन्।
हिरासतमा रहेका व्यक्तिको तस्बीर खिचेर सार्वजनिक गरेपछि उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो। तर म्याद थपका लागि पुस ८ गते अदालतमा उपस्थित गराउँदा अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
त्यसपछि तारेखमै राखेर अनुसन्धान गरेको प्रहरीले बिहीबार भने उनलाई अभियोग पत्रसाथ अदालतमा उपस्थित गराएको थियो।
Shares

प्रतिक्रिया