राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतेको तस्बिर खिचेर सार्वजनिक गर्ने निकोलस भुसालविरुद्ध मुद्दा दर्ता भएको छ।
प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेले बताइन्।
उनीविरुद्ध विद्युतीय कसुरमा अभियोग दर्ता गरिएको छ। निकोलसलाई भने हिरासतमा राखिएको छ। बिहीबार अभियोग पत्रसाथ उनलाई पनि अदालतमा पेश गरिएको थियो। अदालतले भुसाललाई प्रहरीको जिम्मा लगाएर पठाएको एसपी श्यामबाबु ओलियाले बताए।
शुक्रबार उनलाई प्रहरीले पुनः अदालतमा उपस्थित गराउने छ। त्यसपछि अदालतमा उनको बयान हुनेछ। थुनछेक बहस नसकिए शुक्रबार पनि हिरासतमै फर्काइने छ। थुनछेक आदेशपछि मात्रै उनी पुर्पक्षका लागि कारागार चलान हुने कि थुनाबाहिरै रहेर मुद्दा लड्ने भन्ने निश्चित हुनेछ।
भुसालले स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई हिरासतमा भेट्न जाँदा उनका तस्बिर खिचेर सार्वजनिक गरेका थिए। भुसाल लामिछानेकै समर्थक हुन्।
हिरासतमा रहेका व्यक्तिको तस्बिर खिचेर सार्वजनिक गरेपछि उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो। तर म्याद थपका लागि पुस ८ गते अदालतमा उपस्थित गराउँदा अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। त्यसपछि तारेखमै राखेर अनुसन्धान गरेको प्रहरीले बिहीबार भने उनलाई अभियोग पत्रसाथ अदालतमा उपस्थित गराएको थियो।
अदालतले पुर्पक्ष नसकिउन्जेल उनलाई प्रहरीकै जिम्मामा पठाइदिएको हो। यसअघि जिल्ला अदालत काठमाडौँमा आफै उपस्थित भएका रवि लामिछानेलाई पनि थुनछेक बहस नसकिउन्जेल प्रहरी हिरासतमै राखिएको थियो। अदालतले धरौटी माग गरेपछि लामिछाने धरौटी बुझाएर मात्रै रिहा भएका थिए।
Shares

प्रतिक्रिया