ad ad

समाज


वीरगञ्ज कारागार कोरोनाको उच्च जोखिममा

वीरगञ्ज कारागार कोरोनाको उच्च जोखिममा

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ८:५,

सबैभन्दा बढी भारतीय कैदीबन्दी भएको वीरगञ्ज कारागार कोभिड—१९ को उच्च जोखिममा छ।

भारतीय सीमा रक्सौलसँग सबैभन्दा नजिक रहेको सो कारागारमा रहेका भारतीय कैदीबन्दीलाई भेट्न आउने आफन्तमा कोभिड—१९ को संक्रमण हुन सक्ने भएकाले कारागार उच्च जोखिममा रहेको कारागार प्रशासनले जनाएको छ।

भारतीय सीमा नजिकैको कारागार भएको, क्षमताभन्दा बढी अर्थात् २१० कैदीबन्दी भएको तथा भारतमा कोरोनाको संक्रमण देखिएकाले सो कारागार अहिले कोरोना भाइरसको उच्च जोखिममा रहेको जेलर श्रवणकुमार पोखरेलले राससलाई बताउ।

भारतीय कैदीको संख्या अत्याधिक भएकाले कारागारले कोभिड– १९ को जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाएको छ। कारागार व्यवस्थापनले कैदीबन्दीलाई व्यक्तिगत सरसफाइ, कोभिड –१९ सम्बन्धी सचेतना कार्यक्रम तथा एक कैदीबन्दीलाई बढीमा एक आफन्तसँग १५ मिनेटका लागि मात्र भेटघाट गर्न दिने गरेको छ।

कारागार प्रसाशनले कारागार व्यवस्थापन विभागले गरेको पत्राचारनुसार कैदीलाई भेट आउने आफन्तले अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने, मास्क लगाएर आउनुपर्ने, भेट्न आउने व्यक्ति स्वस्थ्य हुुनुपर्ने, ज्वरोरुघाखोकी नलागेको हुनुपर्ने, आफन्तले कोसेलीका रुपमा घरबाट केही ल्याउन नपाउने तथा आफन्तसँग भेट्दा कैदीबन्दीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेको छ।

यसैगरी अदालतको आदेशबाहेक अरुलाई कारागारभित्र जानआउन रोक लगाइएको छ। भारतीय कैदी बढी भएकाले कारागारभित्र संक्रमण फैलिएमा परिस्थिति नियन्त्रण बाहिर जान सक्ने सम्भावनालाई दृृष्टिगत गरी कारागार प्रशासनले यस्तो सतर्कता अपनाएको जेलर पोखरेलको भनाइ छ।

एक हजार कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा हाल ९६ महिला, एक हजार २१२ पुरुष र तीन आश्रित बालबालिका छन्।

क्षमताभन्दा बढी कैदीबन्दी भएको सो कारागारमा एउटै कोठामा बढी कैदीबन्दी भएकाले नियमन गर्दागर्दै पनि कोभिड –१९ को संक्रमण फैलिएमा परिस्थिति नियन्त्रण बाहिर जाने चिन्ता व्यक्त गर्दै जेलर पोखरेलले भने, ‘अहिले पनि कारागारमा दिनहुँ कैदीबन्दी थपिने गरेकाले नयाँ कैदीबन्दीबाट संक्रमण नफैलियोस् भनेर अनिवार्य स्वास्थपरीक्षणको व्यवस्था मिलाइएको छ।’

घनाबस्ती, छेउमै सार्वजनिक बाटो, चारैतिर कोलाहलका बीच रहेको वीरगञ्ज कारागारमा एकातिर सुरक्षा चुुनौती बढ्दै गएको छ भने अर्कातिर भारतीय कैदीबन्दीका कारण संक्रमणको उच्च जोखिम रहेको हो।

कारागारभित्र ब्लक सिष्टमको अभाव, आन्तरिक सुरक्षा र व्यवस्थापनमा देखिएको समस्या, क्षमताभन्दा बढी कैदीबन्दी, जीर्ण संरचना, सुरक्षाकर्मी र जनशक्तिको अभाव जस्ता कारणले कारागारभित्रको सुरक्षा संवेदनशीलता बढ्नाका साथै कोभिड –१९ को संक्रमणको सम्भावना पनि उत्तिकै रहेको कारागारका उपसचिव तथा जेलर पोखरेलको भनाइ रहेको छ।

विसं १९९५ भन्दा अघि राणशासनकालमा निर्मित सो कारागार १२ हजार ९९४ दशमलव ६ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। कारागारभित्र आउने कैदीबन्दीमध्ये ३९ प्रतिशत लागुऔषध कारोवारमा सजाय पाएका छन् भने २१० विदेशी कैदीमध्ये दुई पाकिस्तानी छन्। कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका ११ जोडी श्रीमानश्रीमती रहेको र उनीहरुलाई महिनामा एक चोटि १५ मिनेटका लागि कडा सुरक्षाबीच भेट्ने वातावरणसमेत बनाइएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .