समाज


रवि पक्षको बहस आज सुरु भएन, अब पर्सि मात्रै

रवि पक्षको बहस आज सुरु भएन, अब पर्सि मात्रै

नेपालखबर
पुस २९, २०८१ सोमबार १६:९, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त रवि लामिछानेको पक्षबाट आज बहस सुरु हुन सकेन। अब पर्सि मात्रै बहस हुने भएको छ।

भोलि मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले पर्सि मात्र बहस हुने भएको हो।

आज सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकियो। 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा चलेको बहसमा सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापालगायतले बहस गरेका हुन्। 

जाहेरवालाको पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका छन्। 

यस्तै रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्।
रवि अदालतमा आइतबार उपस्थित भएका थिए। पहिलो दिन बयान मात्र सकिएकाले बहस सुरु हुन सकेको थिएन। त्यसैले न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाएको थियो। 

बिहान बहस सुरु हुनुअघि न्यायाधीश अधिकारीले सरकारी वकिलका तर्फबाट २ घन्टा र अभियुक्त रवि लामिछानेका तर्फको बहस सवा १ घण्टामा सक्न निर्देशन दिएका थिए। 

तर सरकारी वकिलतर्फको बहस तोकिएभन्दा एक घण्टा लम्बिएको थियो। त्यसपछि जाहेरवालाका तर्फबाट बहस भयो।

भण्डारीले बहस गरिरहँदा न्यायाधीश अधिकारीले बहस लामो हुँदै गएको र तोकिएको समयसीमा पालना नभएको भन्दै ध्यानाकर्षण गराएका थिए। 

जवाफमा भण्डारीले यो हजारौँ पीडित बचतकर्ताको रकम संगठित र योजनाबद्ध तवरले गरिएको ठगीजस्तो गम्भीर मुद्दामा हतार गर्न नहुने बताएका थिए। उनले आफूलाई समयसीमा नतोक्न पनि आग्रह गरे। 

उनलाई न्यायाधीशले समयसीमा तोकेका छैनन्। न्यायाधीश अधिकारीले ३ बजेभित्र बहस सकेमा आजै आदेश गर्न सकिने बिहानै बताएका थिए।

यसबीचमा रविका तर्फबाट बहस गर्न उपस्थित भएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले ‘बहस जति लम्बिए पनि लम्बयोस्, आपत्ति भएन तर हिजोको जस्तो आदेश गर्न नहुने’ बताएका थिए।

रवि आफै अदालतमा उपस्थित भएकाले हिरासतमा पठाउन नमिल्ने उनको तर्क थियो।

रमनलाई जवाफ दिँदै भण्डारीले यस मुद्दामा कानुनी प्रक्रियामै गडबडी गरिएको बताए।

उनले भने, ‘कास्कीको आदेशपछि प्रहरीले पक्रेर काठमाडौँ प्रहरीलाई बुझाउनुपर्ने थियो। यहाँ कानुनी प्रक्रियामै गडबडी गरिएको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई आफै उपस्थित हुने छुट दिनु नै गलत थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad