समाज


विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन

विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन

विपिन जोशीसहित अपहरित इजरायलीहरूको रिहाइ माग गर्दै शनिबार इजरायलीले तेल अभिभमा गरेको प्रदर्शन।


नेपालखबर
पुस २८, २०८१ आइतबार १५:१९, तेल अभिभ (इजरायल)

इजरायलमा हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीसहित इजरायलीहरूको रिहाइ माग गर्दै हजारौँ इजरायलीले तेल अभिभमा प्रार्थना गरेका छन्।

प्रदर्शनपछिको कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत प्रा.धनप्रसाद पण्डितले समेत सहभागिता जनाएका छन्। 

अघिल्लो वर्ष २० असोज (२०८०) हमास आक्रमणका क्रममा अपहरित बन्दीहरू छाड्न माग गर्दै इजरायलको सबैभन्दा ठूलो सहर तेल अभिभमा हरेक शनिबार प्रार्थनासहितको प्रदर्शन गर्ने गरिएको हो। 

प्रदर्शनकारीहरूले नेपाली विद्यार्थी विपिन जोशीको तस्बिरअंकित प्लेकार्ड पनि बोक्ने गरेका छन्। 

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० मा शपथ खाने भएकाले एक वर्षदेखि जारी प्रार्थनासहितको यस्तो प्रदर्शन यो नै अन्तिम हुने सहभागीहरूले ठानेका छन्। 

त्यसअगावै युद्धविरामका लागि इजरायल तथा प्यालेस्टिनी समूह हमासबीच वार्ता सुरु भएको छ। वार्ताको वातावरण बनाउन हमासले ३४ बन्दी रिहा गर्ने सूची सार्वजनिक गरेको छ। तर त्यसमा विपिनको नाम छैन। 

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि नै हमास–इजरायलबीच युद्धविराम र बन्दी रिहाइ हुने सम्भावनाका बीच १ वर्षदेखि जारी प्रार्थनासहितको प्रदर्शन अन्तिम हुने ठानिएको हो। 

अमेरिकी राजदूत ज्याक लेउ (बायाँ) र ब्रिटिस राजदूत सिमोन वाल्टस (दायाँ) का साथ नेपाली राजदूत प्रा. धनप्रसाद पण्डित

शनिबारको कार्यक्रममा इजरायलका लागि अमेरिकी राजदूत ज्याक लेउ, ब्रिटिस राजदूत सिमोन वाल्टर्स, जर्मन राजदूत स्टेफन सेबर्ट, नेपालका राजदूत प्रा. पण्डितलगायत उपस्थित थिए। कार्यकालको अन्तिम क्षणमा भएकाले अमेरिकी राजदूत लेउ कार्यक्रममा सहभागिताका लागि राजधानी जेरुसेलमबाट तेल अभिभ पुगेका थिए। 

‘कार्यक्रम यहाँको प्रसिद्ध तेल अभिभ स्क्वायरमा भएको थियो, त्यस क्रममा महामहिम अमेरिकी राजदूत, बेलायती राजदूत र जर्मन राजदूतसँग मेरो भेट र कुराकानी भयो’ राजदूत प्रा पण्डितले भने, ‘त्यस क्रममा मैले नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन उहाँहरूलाई पनि आग्रह गरेको छु।’

खासमा इजरायलका लागि अमेरिकी राजदूत लेउ यसै हप्ता अमेरिका फिर्ता हुँदै छन्। नवनिर्वाचित राष्ट्रपति  ट्रम्पले इजरायलका लागि माइक हकवीलाई इजरायलका लागि नयाँ राजदूत चयन गरिसकेका छन्। 

‘आफू फिर्ता हुन लागेकाले राजदूत लेउले विपिन जोशीको रिहाइको विषयलाई प्राथमिकतामा राख्न आफ्ना स्टाफलाई तत्काल निर्देशन दिनुभएको छ’ राजदूत पण्डितले भने, ‘विपिन जोशीको रिहाइको विषय पनि अब इजरायलस्थित अमेरिकी दूतावासको प्राथमिकतामा परेको छ।’

आफ्नो कार्यकालको अन्तिम समय भएकाले अमेरिकी राजदूत लेउ जेरुसेलमबाट झण्डै ६५ किमि परको तेल अभिभ पुगेका थिए।

इजरायलमा अधिकांश मुलुकहरूको राजदूतावास सबैभन्दा ठूलो इजरायली सहर तेल अभिभमा भए पनि अमेरिकी राजदूतावास भने राजधानी जेरुसेलममा छ। 

‘नेपाली राजदूतावास तेलअभिभमा छ, अमेरिकी राजदूतावास जेरुसेलममा’ राजदूत पण्डितले भने, ‘तर, तेलअभिभ स्क्वायरमा भएको कार्यक्रममा निमन्त्रणा गरिएकाले अमेरिकी, बेलायती र जर्मन राजदूतसँग समेत भेटघाट गर्ने अवसर मिल्यो।’ 

अपहरितहरूको तस्बिरसहितको होर्डिङ बोर्ड र बीचको लहरमा बायाँबाट तेस्रोमा नेपाली विद्यार्थी विपिन जोशी।

राजदूत पण्डितका भनाईमा, दसौँ हजार इजरायलीहरूको जमघट रहेको कार्यक्रममा हमासबाट अपहरितका यस्ता पारिवारिक सदस्य पनि कार्यक्रममा सहभागी हुन तेल अभिभ आइपुगेका थिए, जसले विगतमा नेपाल भ्रमण गरेका थिए। राजदूत पण्डितसँगको कुराकानीमा उनीहरूले नेपाल र आफूहरूको पीडा समान रहेको उल्लेख गरेका थिए।

विपिन जोशीको तस्बिर

‘हमासले बन्दी बनाएका कतिपयका पारिवारिक सदस्यले ४/५ पटक नेपाल भ्रमण गरिसकेका रहेछन्, नेपाल निकै सुन्दर र हार्दिक मुलुक भएको अनुभव उनीहरूले सुनाए’ पण्डितले भने, ‘आफूले भ्रमण गरेको मुलुकका विपिन जोशी पनि अपहरणमा परेकामा उनीहरूले दु:ख प्रकट गरे।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad