चालकलाई कुटपिट गर्दै टाटासुमो तोडफोड गरेको आरोपमा काभ्रे प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बा ३ च ३४९४ र बा ३ च ५६२१ नम्बरको कारका चालक र ती दुई कारमा सवार व्यक्तिहरु रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए। पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
बुधबार साँझ उनीहरुले नमोबुद्ध नगरपालिका- २ बेलास्थित बीपी राजमार्गमा मंगलटारबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६१७२ नम्बरको टाटासुमोका चालकलाई कुटपिट गर्नुको साथै गाडीमा पनि तोडफोड गरेका थिए।
‘विपरित दिशाबाट आउँदै गरेका कार र टाटासुमो साँघुरो सडकमा रोकिएपछि गाडीबाट ओर्लिएर कार चालकसहितका व्यक्तिले टाटासुमो चालकलाई कुटपिट गरेका हुन्,’ डीएसपी घलेले नेपालखबरसँग भने, ‘कुटपिटपछि फरार भएका उनीहरुलाई गएराति विभिन्न स्थानबाट पक्राउ गरेर कानुनी कारबाही अघि बढाएका छौँ।’
उनीहरुलाई बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइने डीएसपी घलेले बताए।
Shares

प्रतिक्रिया