साहित्य


पृथ्वीजयन्तीमा नेपालयको कोसेली- महेशराज पन्तको पुस्तक ‘पृथ्वीनारायण शाह’

पृथ्वीजयन्तीमा नेपालयको कोसेली- महेशराज पन्तको पुस्तक ‘पृथ्वीनारायण शाह’

नेपालखबर
पुस २५, २०८१ बिहिबार ११:२, काठमाडौँ

नेपाली इतिहास, संस्कृति र पुरातत्वका विविध क्षेत्रका अनुसन्धाता महेशराज पन्तले पृथ्वीनारायण शाहबारे पुस्तक तयार पारेका छन्। पुस्तक पब्लिकेसन नेपालयबाट यही पुस २७ मा पृथ्वी जयन्तीका दिन बजारमा आउनेछ।

इतिहास उत्खनन् र त्यसको तथ्यसंगत पुनर्लेखनमा राणाकालदेखि नै सक्रिय मुलुककै अग्रणी संस्था संशोधन मण्डललाई नेतृत्व दिँदै आएका पन्तले झण्डै आधा शताब्दी लगाएर गरेको खोज अटाएको छ। पन्तले २०२९ सालदेखि २०७६ सालसम्म पृथ्वीनारायण शाह र उनको काम वरिपरि रहेर लेखेका थुप्रै आलेखबाट छनौट गरिएका ११ लेखको विस्तारित, परिमार्जित, अनूदित रूप पुस्तकमा समेटिएको छ।

पिता प्राज्ञ नयराज पन्तद्वारा स्थापित संस्था ‘संशोधन मण्डल’को पाठशालामा संस्कृत भाषा र वाङ्मय अनि नेपालको इतिहास अनुसन्धानका लागि आवश्यक विद्या आर्जन गरेका पन्त हाल त्यसै संस्थाका अध्यक्ष छन्। पछि उनले जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट इन्डोलजीमा विद्यावारिधि गरे। जर्मनी र भारतबाट एक–एकवटा पुस्तकसहित उनका हालसम्म अठारवटा पुस्तक र आठ सयजति अनुसन्धानमूलक लेख प्रकाशित छन्। नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनामा लामो समय काम गरेका पन्तले जर्मनीका विभिन्न विश्वविद्यालयमा शोध अध्यापन तथा फ्रान्सको ‘सेन्टर फर साइन्टिफिक रिसर्च’मार्फत शोध गरेका छन्। पन्त इतिहासप्रधान त्रैमासिक जर्नल ‘पूर्णिमा’को स्थापनादेखि हालसम्मकै सम्पादक पनि हुन्। विसं २०२१ मा सुरू भएको पूर्णिमा पनि ६० वर्ष पुगेको छ।

‘पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्रीको परिशीलन गरी पृथ्वीनारायण शाहबारे चल्दैआएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम यस पुस्तकमा गरिएको छ,’ इतिहासकार पन्त भन्छन्, ‘यतिबेला यस विषयमा धेरै चासो रहे तापनि तात्कालिक सामग्रीका अनुशीलनको अभाव भएकाले मैले यसलाई पुस्तकाकार दिने निधो गरेको हुँ।’

‘पृथ्वीनारायण शाहमा 'इतिहासको चेतना’, ‘पृथ्वीनारायण शाह पहिले नायक, अनि प्रतिनायक, अहिले नायकदेशीय’, ‘एकीकरण दिवस कहिले?’, ‘के पृथ्वीनारायण शाहको उपदेश नकली हो?’, ‘पृथ्वीनारायण शाहको उपदेशको औचित्य’, ‘आज्ञापत्र, उपदेश र राजविधानसार’, ‘जर्ज किन्लकको डायरी’, ‘पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटे कि काटेनन्?’, ‘नाकाबन्दी र पृथ्वीनारायण शाह’, ‘काठमाडौंमा द्यौभाजू र पृथ्वीनारायण शाह’, 'भक्तपुर विजयको प्रत्यक्ष वर्णन’ जस्ता शीर्षक पुस्तकमा छन्।

यसबाहेक पृथ्वीनारायण शाहले आफू दिवंगत हुनुभन्दा केही समयअघि आफ्ना भाइभारदारबीच नुवाकोट दरबारमा गरेको भाषण अर्थात् चल्तीको भाषामा दिव्योपदेशको सम्पूर्ण पानाको फोटो तथा पूर्णपाठ पनि पुस्तकमा समेटिएको छ।

‘पब्लिकेशन नेपालय २० वर्ष पुगेको सुखद् अवसरमा हामी नयाँनयाँ योजनामा छौं,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यस क्रममा हरेक विधाका खासखास अध्येताहरूसँग सहकार्य बढाउँदै पाठकहरूसम्म पुग्ने लक्ष्य लिइएको छ।’

पब्लिकेसन नेपालय दुई दशक पुगेको अवसरमा हरेक अंग्रेजी महिनाको दोस्रो शनिबार पुस्तक लोकार्पण अथवा चर्चापरिचर्चा गर्ने उद्देश्य पब्लिकेसनले लिएको छ। जनवरी महिनाको दोस्रो शनिबार पृथ्वी जयन्तीसमेत परेको  हुँदा त्यसै दिनदेखि यस पुस्तकलाई बजारमा उपलब्ध गराइने योजना रहेको श्रेष्ठ बताउँछन्।

‘नेपालको इतिहासका धेरै तथ्य बाहिर ल्याएको संशोधन मण्डलका अध्यक्ष ऐतिहासिक महेशराज पन्तको यस पुस्तकले पृथ्वीनारायण शाहबारेका धेरै भ्रम र यथार्थ पर्गेल्छ,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भन्छन्, ‘इतिहास अध्येता तथा नयाँ पुस्ताका लागि सजिलो होस् भनेर पृथ्वीनारायण शाहको उपदेशको सम्पूर्ण फोटोसहित पूर्णपाठ पनि पुस्तकमा समाविष्ट छ।’

१३३ पृष्ठको पुस्तकलाई ४९५ रुपैयाँ मूल्य तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad