चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएको प्रहरीले जानकारी दिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएको र दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए।
यद्यपि विवरण सङ्कलनका लागि प्रहरीहरू खटाइएकाले थप खुल्न बाँकी रहेको पनि उनले बताए।
उनले भूकम्पका कारण काठमाडौँमा एक, बारामा ११ र काभ्रेमा एक जना घाइते पनि भएको जानकारी दिए।
काठमाडौँमा भाग्दा घाइते भएको, बारामा ११ जना भूकम्प आएपछि बेहोस भएको र काभ्रेका एक जना माथिबाट ढुङ्गा खसेर घाइते भएको अधिकारीले जानकारी दिए।
ओखलढुङ्गामा एक घर पूर्ण र दुई घरमा सामान्य तथा सङ्खुवासभामा एक घरमा सामान्य क्षति भएको जानकारी पनि उनले दिए।
उनका अनुसार सोलुखुम्बुम एक पूर्ण र एक आंशिक तथा तीन घरमा सामान्य क्षति भएको तथा ताप्लेजुङमा तीन, सिन्धुपाल्चोकमा एक र रामेछापमा एक घरमा सामान्य क्षति भएको छ। रासस
Shares

प्रतिक्रिया