नेपालसँग सीमा जोडिएको चीनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर आज बिहान गएको सात रेक्टर स्केलको भूकम्पले सोलुखुम्बु क्षेत्रमा ठूलो धक्का महसुस भएको छ।
भूकम्पपछि खुम्बुबासी डरले घर बाहिर निस्किएका छन्। चिसोमा घर बाहिर बस्नुपर्दा सर्वसाधारणलाई सास्ती भएको छ।
तर, सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी द्वारिका घिमिरेले अहिलेसम्म भूकम्पले गरेको क्षतिको विवरण प्राप्त नभएको बताए।
‘यहाँ पनि भूकम्पको ठूलै धक्का महसुस भयो। तर, अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन,’ डीएसपी घिमिरेले नेपालखबरसँग भने, ‘तथापी हामी परिचालित भएका छौँ। सबैतिरबाट सूचना संकलनको काम भइरहेको छ। उद्धार र राहतको लागि पनि हामी तयारी अवस्थामा बसेका छौँ। अहिलेसम्म कतै अप्रिय घटना भएको जानकारी आएको छैन।’
भूकम्पले सदरमुकाम सोलु सल्लेरीको बजार क्षेत्रमा पनि कुनै क्षति भएको जानकारी नआएको उनले बताए। ‘चीनसँग सीमा जोडिएका प्रहरी युनिटहरुसँग पनि हामी बुझ्ने काम गरिरहेका छौँ,’ उनले भने।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ६ बजेर ५० मिनेट जाँदा स्थानीय मापन अनुसार दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर सात म्याग्नीच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी नेपालका धेरै जिल्लामा महसुस भएको छ।
भूकम्पको धक्काले काठमाडौँवासी पनि सडकमा निस्किएका थिए।
Shares

प्रतिक्रिया