सशस्त्र प्रहरी बलका चार जिल्लाका प्रमुखसहितका १५ अधिकारीहरुलाई बाहिनीपतिको जिम्मामा फिर्ता गरिएको छ।
राजस्व संकलनमा गडबढ गरेको गुनासोपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले चार जिल्लाका अधिकारीहरुलाई पुस ९ गते झिकाएको थियो। उनीहरुलाई कडा चेतावनी दिँदै १५ दिनभित्रमा राजस्वमा सुधार गरेर देखाउन चेतावनी दिएर फिर्ता गरिएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले सम्बन्धित प्रदेशका बाहिनीपतिहरुको जिम्मामा फिर्ता गरिएको बताए।
सशस्त्र प्रहरी प्रधान कार्यालयले मोरङका प्रमुख विश्व खड्का, बाँकेका प्रमुख बिमल डाँगी, धनुषाका एसपी दर्शन गिरी र बाराका प्रमुख सन्तोष बहादुर सिंहलाई हेडक्वार्टरले झिकाएको थियो। बाराका सशस्त्र प्रहरी प्रमुख बिदामा भएकाले त्यहाँबाट डीएसपी र इन्सपेक्टर उपस्थित भएका थिए।
यस्तै यी चारवटै जिल्लाबाट राजस्वमा समस्या देखिएका बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुखहरुलाई पनि बोलाइएको थियो। चार जिल्लाबाट झिकाइएका तीन एसपीसहित १५ जना अधिकारी आइतबार फर्किएको डीआईजी न्यौपानेले बताए।
मोरङका अधिकारीहरुलाई सहायक बाहिनीपति एसएसपी मनिस थापा, धनुषा र बाराका अधिकारीहरुलाई डीआईजी कालिदास धौबजी र बाँकेका डीआईजी प्रदिपकुमार पालको जिम्मामा पठाइएको हो।
राजश्व संकलनमा कमी आएपछि उनीहरुलाई स्पष्टिकरणका लागि बोलाइएको थियो। तर यो बिचमा पटक पटक छलफल भएपछि एक पटकलाई सुधारको मौका दिइएको हो।
राजस्वमा गडबडी गरेपछि सशस्त्रका चार जिल्ला प्रमुखलाई हेडक्वार्टर झिकाइयो
गतवर्ष फागुनमा जिल्ला प्रमुखका रुपमा खटाइएका एसपीहरु सामान्यतः एक वर्ष पूरा भएपछि मात्रै सरुवा हुनेछन्।
Shares

प्रतिक्रिया