बेलायतस्थित नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघमा सदस्यता वितरण तथा निर्वाचन प्रक्रियाका विषयमा रहेको विवाद तत्काल अन्त्य गरी नयाँ महाधिवेशनको मिति तय गर्न माग गरिएको छ।
महासंघको गत जेठ २३ गते (५ जुन २०२४) को परिपत्र अनुसार बेलायत शाखाको स्थगित अधिवेशनको नयाँ मिति तय गर्न शाखाका सदस्यहरूले माग गरेका हुन्।
अधिवेशन तयारी समितिका संयोजक दिनेश परियारले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष निर्मला शर्मालाई एक पत्रमार्फत अधिवेशनको मिति तय गर्न र केन्द्रीय प्रतिनिधि पठाउन आग्रह गरेका छन् ।
यसअघि बेलायत शाखा (एफएनजे युके) को छैटौँ अधिवेशन स्थगित भएपछि शाखाका नाममा संस्थाको विधानविपरीत भएका गतिविधि रोक्नको लागि गत मंसिर २० गते पत्राचार गर्दै नयाँ महाधिवेशनको मिति तय हुने जनाएको थियो ।
महासंघको पत्रबमोजिम महाधिवेशनमा जाने र नजाने विषयमा बेलायतमा रहेका पत्रकारहरू विभाजित हुँदा संस्थाभित्र विवाद चर्किएको हो।
परियारले गत जुलाई महिनामा भएको महाधिवेशन नेपाल पत्रकार महासंघको पत्रअनुसार स्थागित भएको जानकारी दिए।
उनले बेलायत शाखामा रहेका सदस्यतासम्बन्धी विवाद समाधानका लागि तयार गरिएको ५९ जना सदस्यहरूको नामावली महासंघको केन्द्रीय कार्यालयमा दर्ता गरेको बताए ।
उनले गत जुन महिनामा सदस्यता वितरणमा शाखामा भएको व्यापक अनियमिताको छानविन गरी तत्काल नेपाल पत्रकार महासंघ बेलायत शाखाको छौटौ महाधिवेशनको मिति तय गर्न माग गरे ।
नेपाल पत्रकार महासंघ बेलायतका पूर्ववरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले बेलायतमा रहेका नेपाली पत्रकारहरूलाई संगठित गर्न स्थापना भएको शाखामा सदस्यता वितरणमा भएको विभेदले शाखाको औचित्यमाथि प्रश्न उठेको प्रतिक्रिया दिए।
उनले शाखामा नयाँ सदस्यता वितरणको प्रकृया सुरु गरी सबै नेपाली पत्रकारहरूलाई महासंघको छाताभित्र समेटेर मात्र महाधिवेशन हुनुपर्ने बताए। बेलायतमा सक्रिय पत्रकारहरूलाई समेटेर सदस्यता वितरण गर्न उनको आग्रह छ।
लुइँटेलले समाजलाई भ्रम पार्ने गरी कथित महाधिवेशनबाट निर्वाचित फर्जी कार्यसमितिको फोटोसेसन तथा खादामाला सहितको सम्मानप्रति सचेत रहन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरे।
नेपाल पत्रकार महासंघ बेलायत शाखाको सदस्यताका लागि गत जुन महिनामा ६५ जनाले आवेदन दिएकोमा तत्कालीन अध्यक्ष ध्रुव अर्याल समूहले एकलौटी सदस्यता वितरण गरेको आरोप लागेको छ। शाखाको सदस्य बन्न आवेदन दिएका २७ जनामध्ये सबैको रद्द गरेर रकम जफत गरेपछि शाखामा विवाद चुलिएको हो।
Shares

प्रतिक्रिया