विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका माओवादी उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूमाथि यसअघि नै आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो।
सम्पत्ति शुद्धीकरण विभागले पनि उनीहरुविरुद्ध मुद्दा चलाउनु पर्ने प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ।
राहुल भन्ने रेशम महरालाई समेत प्रतिवादी बनाइएको मुद्दामा विमानस्थल भन्सारका तत्कालीन सुब्बा रेवन्त खड्का, दिनेश बस्नेत लगायत मुख्य प्रतिवादी छन्।
अमृत कार्की, राम केशव थापा क्षेत्री, ललिता थापा, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रतिवादी बनाइएको छ।
सम्पत्ति जफतका लागि सिन्धाुपाल्चोकका रोजन राउत र बाजुराकी प्ररणा थापालाई पनि प्रतिवादी बनाइएको छ।
उनीहरूले चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३० थान भेपभित्र लुकाएर ल्याएको ९ किलो ११.५२४ ग्राम सुन बेचविखन गरी लाभ लिएको आरोप छ।
उनीहरूले विमानस्थलमा लुकाएको ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबर मूल्यको सुन बापत ६ करोड मात्र दिई २ करोड लाभ लिएको अनुसन्धानमा खुलेको थियो।
अनुसन्धानका क्रममा उनीहरूको अस्वाभाविक आम्दानी र सम्पत्ति देखिएको भन्दै गैरकानुनी र स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको देखिएको अभियोजनमा दाबी गरिएको छ।
अवैध रुपमा कमाएको सम्पत्ति जफत गर्न माग गरिएको छ।
Shares

प्रतिक्रिया