स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स रोकथामका लागि सचेतना अपनाउँदै निगरानी प्रभावकारी बनाउने निर्णय गरेको छ।
स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र प्रमुख एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा मन्त्रालयमा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा स्वास्थयमन्त्री प्रदीप पौडेलले एम पक्स भित्रन नदिन सीमानाकामा विशेष ख्याल गर्न र केही सूचना प्राप्त भएमा सम्बद्ध निकायमा रिपोर्ट गर्न उनले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे।
उनले अस्पतालहरुको सेवा सुधार र लाइन कम गर्नका लागि यथासम्भव उपाय अपनाउन भन्दै शल्यक्रियाका लागि बिरामीको चाप बढेमा एक अर्कामा सम्प्रेषण गर्ने आग्रह गरे।
उनले अस्पतालहरुमा अब डिजिटल रिपोर्ट प्रदान गर्ने व्यवस्था लागु भएको भन्दै त्यसलाइ कडाइसाथ कार्यान्वयन गरेर सघाउनसमेत आग्रह गरे।
बैठकले शल्यक्रियाका बिरामीको चाप बढी भएका अस्पतालले एक आपसमा सहकार्य गर्दै बिरामीले कम समय कुर्नुपर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।
अस्पतालको पूर्वतयारी तथा प्रतिकार्य योजना डिजिटल रुपमा अद्यावधिक गर्नेसमेत निर्णय बैठकले गरेको छ।
Shares

प्रतिक्रिया