समाज


डाक्टर ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च

डाक्टर ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च

नेपालखबर
पुस १३, २०८१ शनिबार ९:१७, काठमाडौँ

मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियन्ता डा.ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गरेका छन्। उनले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी अनाथ र असहाय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गरेका हुन्।

डा ओम मूर्ति अनिल पोड्कास्टमार्फत् युट्युबमा स्वास्थ्य र समसायमिक विषयमा उनले जनचेतनामूलक प्रस्तुति दिँदै आएका छन्। 

उक्त युट्युब च्यानल मोनिटाइजेसन भई प्राप्त भएको पहिलो आम्दानीलाई डा ओम मूर्तिले बूढानीलकण्ठ नगरपालिका–४ स्थित चन्डेश्वरी मन्दिर नजिक रहेको पवित्र समाज सेवा नेपालमा आश्रित बालबालिका र वृद्धवृद्धालाई न्यानो कपडा र खाद्यान्न सहयोगमा खर्चिएका हुन्। उनले भने, 'मैले सामाजिक सञ्जालको आम्दानी सामाजिक कर्ममै खर्च गरेको हुँ। आगामी दिनमा अन्यत्र पनि आवश्यकताअनुसार सहयोग गर्दै जानेछु।'

संस्थामा १३ महिनादेखि २० वर्षसम्मका ६० जना बालबालिका र ९५ वर्षसम्मका १५ जना वृद्धवृद्धा आश्रित रहेका छन्। आश्रित सदस्यसहित छ जना स्वयंसेवकलाई आवश्यकताअनुसार न्यानो कपडा प्रदान गरिएको थियो। यस्तै विभिन्न खाद्य सामग्री र खेलकुद सामग्रीसमेत वितरण गरिएको थियो।

स्वास्थ्य सेवाबाहेक एक दशकभन्दा लामो समयदेखि स्वास्थ्य र समसामयिक विषयमा जनचेतना जगाउँदै आएका डा अनिलको फेसबुक पेजमा १४ लाखभन्दा बढी र युट्युबमा ८० हजारभन्दा बढी फलोअर्स रहेका छन्। डा ओम मूर्ति अनिलले स्वास्थ्य सचेतनामा दुई वटा विश्व कीर्तिमानसमेत कायम गरेका छन्। जसअन्तर्गत गिनिज वर्ल्ड रेकर्ड र वर्ल्ड बुक रेकर्ड (लन्डन) रहेका छन्।

विश्व मुटु दिवसको अवसरमा मुटुको स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यले २९ सेप्टेम्बर २०२३ मा डा उनले फेसबुक लाइभमार्फत ११ हजार दुई सय १२ जना प्रत्यक्ष दर्शकसँग ‘मुटुरोगको स्वास्थ्य जागरूकता लाइभ स्ट्रिम’ को लागि सबैभन्दा धेरै दर्शकको विश्व रेकर्ड कायम गरेका हुन्।

त्यस्तै सन् २०१४ मा डा अनिललाई ‘मुटुरोग रोकथाममा अतिथि वक्ताको रूपमा सबैभन्दा लामो समयको रेडियो अन्तर्वार्ता’ का लागि प्रदान गरिएको थियो। इमेज एफएममा ४४ हप्तासम्म लगातार प्रसारण गरिएको अन्तर्वार्ताको शृङ्खलालाई वर्ल्ड बुक रेकर्ड (लन्डन) ले मान्यता प्रदान गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad