समाज


इन्सपेक्टर बिनु शाहीले अदालतमा लगाइन् २ प्रहरी अधिकृतमाथि गम्भीर आरोप

इन्सपेक्टर बिनु शाहीले अदालतमा लगाइन् २ प्रहरी अधिकृतमाथि गम्भीर आरोप

उजिर कार्की
पुस ९, २०८१ मंगलबार १९:३०, काठमाडौँ

हनी ट्र्यापको मुद्दामा अभियुक्त बनाइएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीले दुई प्रहरी अधिकृतमाथि गम्भीर आरोप लगाएकी छन्। हनी ट्र्यापरको गिरोहसँग मिलेर एक व्यवसायीबाट रकम असुलेको आरोपमा फरार रहेकी शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन्। 

अदालतमा उनले जिल्ला प्रहरी परिसरका तत्कालीन प्रहरी उपरीक्षक नरहरि अधिकारी र मुद्दा शाखाका प्रहरी निरीक्षक नानिकाजी थापाले आफू सुतिरहेको कोठामा आएर अमानवीय र अनैतिकपूर्ण व्यवहार देखाएको बयान दिएकी हुन्। हनी ट्र्यापको घटनामा आफ्नो संलग्नता अस्वीकार गरेकी शाहीले २०८१ भदौ १६ गते सरुवापछिको फेयरवेल पार्टीमा र असोज ९ गते बिहान अधिकारी र थापाले त्यस्तो व्यवहार देखाएको अदालतमा बयान दिएकी हुन्। 

सोही घटनापछि उनीहरुले नै प्रतिशोध लिई आफ्नोविरुद्धमा समेत मुद्दा दायर गर्ने गरी प्रतिवेदन दिएको आरोप लगाएकी छन्। यो मुद्दाका दुई पक्षबीच रकम लेनदेन तथा शारिरीक सम्पर्कको विषयमा कुनै पनि जानकारी नभएको शाहीको भनाइ छ। 

जाहेरवाला व्यवसायी र प्रतिवादी सुस्मा विकबीच अब उप्रान्त कुनै पनि पक्षले हानि नोक्सानी तथा गालीगलौज नगर्ने गरी मिलापत्र गराइदिएको उनले बताएकी छन्। मिलापत्र गर्दा कुनै पनि रकम लेनदेन नभएको, जाहेरवालाले जाहेरीमा उल्लेख गरे बमोजिम आफूले प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई चेक जम्मा गर्न आदेश पनि नदिएको उनको बयान छ। 

उनले हमाललाई भैँसेपाटी प्रभागका पूर्वप्रमुख नानीकाजी थापाको हस्ताक्षरको सट्टामा आफ्नो हस्ताक्षर परिवर्तन गर्ने प्रयोजनका लागि पठाएको शाहीको भनाइ छ। 

भैँसेपाटी प्रभागमा व्यवसायीविरुद्ध झुटा मुद्दा दायर गरेर रकम बार्गेनिङ गरेको आरोपमा एसपी अधिकारीको नेतृत्वमा छानबिन भएको थियो। छानबिन समितिले उनको संलग्नता देखिएको भन्दै निलम्बन गरेर अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको थियो। 

उक्त सिफारिसपछि उनलाई निलम्बन गरेर जिल्ला प्रहरी परिसर ललितपुरबाट अनुसन्धान अगाडि बढेको थियो। तर शाहीले ललितपुर परिसरको अनुसन्धानमा प्रश्न उठाउँदै गृह मन्त्रालयमा निवेदन दिएकी थिइन्। उनको निवेदनपछि यो मुद्दाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट भएको थियो।

सीआईबीले बिनुकुमारी शाहीसहित ताजम्मुल इस्लाम, दर्शन पोखरेल, सुस्मा विक, भीमादेवी थापा र सहायक हवल्दार महेन्द्र हमालविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अभियोग दायर गरेको थियो। 

ताजम्मुल इस्लामलाई मंसिर १३ गते न्यायाधीश टेकराज जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। हाल उनी कारागारमा छन्। दर्शन पोखरेल अझै फरार छन्। महेन्द्र हमाल साधारण तारेखमा रिहा भए भने सुस्मा र भीमादेवी धरौटीमा रिहा भएका थिए। 

यसअघि फरार रहेकी शाही भने आइतबार अदालतमा उपस्थित भएकी थिइन्। उनलाई पनि अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशअनुसार धरौटी बुझाएर उनी रिहा भइसकेकी छन्।

इन्सपेक्टर शाहीले इन्कारी बयान दिए पनि ताजम्मुलको बयान, उनीसँग भएको फोनवार्ता, जाहेरी र प्रहरी निरीक्षक नानीकाजी थापाको प्रहरी प्रतिवेदनलाई आधार देखाउँदै अदालतले कसुरमा संलग्नता नरहेको भनी विश्वास गर्ने आधार नदेखिएको ठहर गरेको हो। 

सहायक हवल्दार हमालले आफू शाहीकै आदेशमा पैसा जम्मा गर्न बैंक गएको बयान दिएका थिए। उनी बैंक पुगेका प्रमाण मिसिलसाथ संलग्न गरिएको थियो।

ती व्यवसायीसँग सुरुमा ६० लाख मागेको र पछि ३० लाखमा सहमति भएको जाहेरीमा उल्लेख छ। २० लाख रुपैयाँ भीमादेवीको खातामा जम्मा गरेको र १० लाख रुपैयाँ पछि साट्ने गरी चेक दिएको पीडितको दाबी छ। 

तर बिनुको खातामा रकम जम्मा नभएका कारण उनलाई थुनामा राख्नु पर्नेसम्मको कारण नदेखिएको भन्दै पछि ठहरे बमोजिम हुनेगरी ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले आदेश दिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad