समाज


सूर्यदर्शन सहकारी ठगी : ४० करोड बिगो बढाएर १९ विरुद्ध मुद्दा दर्ता, जीबीलाई क्रिप्टोको पनि अभियोग

रविसहित ३२ जनाविरुद्ध आइतबार दर्ता हुने
सूर्यदर्शन सहकारी ठगी : ४० करोड बिगो बढाएर १९ विरुद्ध मुद्दा दर्ता, जीबीलाई क्रिप्टोको पनि अभियोग

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १७:१, पोखरा (कास्की)

पोखराको सूर्यदर्शन सहकारी ठगीमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध थप कसुरमा सजायको माग गर्दै जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर भएको छ। 

गत वर्ष सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएकोमा अहिले संगठित अपराधको कसुर पनि थप गरेर शुक्रबार अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले बताइन्। 

यसअघि जीबीसहित १९ जनाविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा चलाइएको थियो। उक्त मुद्दामा पनि गत वर्षभन्दा उनीहरूविरुद्ध थप बिगो कायम गरिएको छ। 

अघिल्लो मुद्दामा सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको थियो। तर शुक्रबार दायर गरिएको अभियोग पत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो कायम गरिएको काफ्लेले बताइन्। 

उनीहरूलाई सहकारी ऐन अनुसार बिगो भराउन र बिगो बराबरको जरिवाना गराउन माग गरिएको छ। सोही ऐन अनुसार कैद सजायको पनि माग गरिएको थियो।

यस्तै १९ जनाविरुद्ध नै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि सजाय माग गरिएको छ। जीबी राईविरुद्ध भने क्रिप्टो करेन्सीमा कारोबार गरेको आरोपमा समेत सजाय गर्न माग गरिएको छ। 

यसअघि सहकारी ठगीको आरोपमा २०८० भदौमा अभियोग पत्र दायर भएका सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेलसहितविरुद्ध मुद्दा दर्ता भएको थियो। 

यस्तै सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई, पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध सरकारी वकिल कार्यालयले बिगो बढाउँदै थप कसुरमा सजाय माग गर्दै अभियोगपत्र दायर गरेको हो। 

पूरक अभियोग लगाइएकामध्ये ६ जना कास्की कारागार र ३ जना अन्य कारागारमा छन्। १० जना भने फरार छन्।  

रविसहित ३२ जनाविरुद्ध आइतबार दर्ता हुने

सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ३२ जनाविरुद्ध भने आइतबार मात्रै अभियोग पत्र दायर हुने भएको छ। 

‘गत वर्ष भदौमा अभियोग दायर गरेका १९ जनाको हकमा आज थप बिगो र थप कसुरमा सजाय माग गर्दै अभियोग पत्र दायर गरिसकेका छौँ। बाँकीको हकमा आइतबार मात्रै मुद्दा दायर हुन्छ’, काफ्लेले भनिन्, ‘म्याद सकिनेको हकमा आजै मुद्दा दर्ता गरिएको हो। बाँकीको म्याद छ, म्यादभित्रै दर्ता हुन्छ।’

जिल्ला अदालतबाट यसअघि ४ दिनको म्याद लिएकाले सरकारी वकिल कार्यालयले अब आइतबार अभियोग पत्रसाथ उनीहरूलाई अदालतमा उपस्थित गराउन पर्छ। 

उनीहरूविरुद्ध पनि सरकारी वकिल कार्यालयले कम्तिमा ३ वटा कसुरमा अभियोग पत्र दायर गर्ने तयारी गरेको छ। केहीको हकमा क्रिप्टो कारोबारमा समेत अभियोग पत्र दायर हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad