समाज


अर्को जुनीमा हुन सकोस् यो जोडीको मिलन!

अर्को जुनीमा हुन सकोस् यो जोडीको मिलन!

सिर्जना सुवेदी र विवेक पंगेनी। तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
पुस ५, २०८१ शुक्रबार १४:३१, काठमाडौँ

साँचो प्रेम साहित्य र सिनेमामा मात्र सीमित हुँदै गएको यो स्वार्थी संसारमा सामाजिक सञ्जालमा छाइरहने एउटा उदाहरणीय दम्पतीले धेरैलाई भावुक बनाइरहेको थियो। 

जहाँ एउटी जवान पत्नीले रोगले थलिएका पतिलाई स्याहारसुसार गरिरहेकी हुन्थिन्। उनको निःस्वार्थ प्रेम, त्याग र समर्पण देख्दा जो कोहीका आँखा रसाउँथे सायद। सम्भवतः धेरैले मनमनै कामना गरिरहेका हुन्थे- हे भगवान्! उनका पतिलाई चाँडै निको होस् र उनीहरू फेरि हाँसीखुसीका साथ मायाप्रेम साटासाट गर्न सकून्। 

तर निर्दयी नियतिले त्यो चाहनामा चट्याङ हानेको छ अर्थात् त्यो जोडीलाई सदाका लागि छुटाएको छ। त्यो जोडी हो- विवेक पंगेनी र सिर्जना सुवेदीको।

बचाउने भगीरथ प्रयत्नका बाबजुद क्यान्सरले विवेकलाई अन्ततः सिर्जनाबाट खोसेर लगेको छ। सिर्जनालाई एक्लो बनाएको छ। जसले यतिबेला धेरैलाई रुवाइरहेको छ भन्दा अतियुक्ति नहोला। 

त्यो आदर्श जोडीको वियोगान्तले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई समेत निकै भावुक बनाएको छ। 

प्रतिनिधि सभा सदस्यसमेत रहेका शर्माले शुक्रबार विवेक र सिर्जनाको तस्बिर राख्दै लेखेका छन्, ‘अर्को जुनीमा हुन सकोस् यो जोडीको मिलन!’

उनले अगाडि लेखेका छन्, ‘साँच्चै मार्मिक थिए सिर्जनाले गर्नुभएका पोस्टहरूमा व्यक्त प्रेम र पीडाका दृश्यहरू! साँच्चै गहिरो प्रेम र समर्पण देखिन्थ्यो यो जोडीका बीच। बचाउन सक्नेसम्मको प्रयास र दिनसक्ने सम्मको माया सिर्जनाले प्रस्तुत गर्नुभएको देख्दा सबैको गहिरो शुभेच्छा थियो- विवेकले नयाँ जीवन पाऊन्, स्वस्थ भएर प्रेमको दुनियाँमा फर्किन सकून्। तर दैवको लीला– ब्रेन ट्युमरले अन्ततः लिएर गयो विवेकलाई। कामना छ- अर्को जुनीमा हुन सकोस् यो जोडीको मिलन!’

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका-५, राजपुर घर भएका विवेक १२ वर्षअघि पूर्ण छात्रवृत्ति पाएर अध्ययनका लागि अमेरिका गएका थिए। त्यहाँ उनी भौतिकशास्त्रमा पीएचडी गर्दै थिए।

तर ५ वर्ष बित्न नपाउँदै पार्किन्सन्स भन्ने रोगले उनको आमा बितिन्। यसपछि उनी नेपाल फर्किए। अनि आमाको काजक्रिया सकाएर अमेरिका फर्कने तयारीमा लागे।

विडम्बना! विवेकको स्वास्थ्यमा पनि अचानक समस्या देखियो। अस्पताल गएर स्वास्थ्य परीक्षण गराउँदा उनमा ब्रेन ट्युमर देखियो, त्यो पनि चौथो स्टेजको।

उनी अमेरिका त गए तर अब उनको समय पढाइमा होइन, उपचारमा बित्न थाले। दुईपटक शल्यक्रिया गरी ७० प्रतिशत ट्युमर त निकालियो तर यसपछि उनलाई किमोथेरापी र रेडिएसन दिनुपर्ने भयो।

जुन अवस्थाबाट पतिलाई मुक्त गराएरै छाड्छु भन्ने अठोटका साथ सिर्जना पतिको स्यहारसुसारमा लागेकी थिइन्। जसका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा छाउन थालेपछि धेरैले उनीहरूको प्रेम र अवस्था थाहा पाएका थिए।

कांग्रेस महामन्त्री शर्मा सामाजिक सञ्जालमा लेख्छन्, ‘विवेकका पिता बर्दियाका मीनराज पंगेनीलाई कति धेरै पीडा होला, जसले विवेककी माता गुमाउनुभयो डेढ वर्षअघि कान्छो छोरा विपिनलाई ३ महिनाअघि गत भदौ २१ मा तीजको दिन मोटरसाइकल दुर्घटनामा गुमाउनुभयो। आमा र भाइको मृत्युपश्चात् अहिले जेठो छोरा विवेक मृत्युसँग जटिल संघर्षपछि दिवंगत भए। भगवान्‌ले आमासँग विवेक र विपिन दुवै छोराको भेट गराऊन् स्वर्गमा। आत्माको चिरशान्ति कामना गर्दै, समस्त परिवारजनमा गहिरो समवेदना!’

सांसद शर्माले जस्तै यतिबेला धेरैले सामाजिक सञ्जालमा उनीहरूको वियोगप्रति गहिरो दुःख व्यक्त गरिरहेका छन्। 

हास्य कलाकार मनोज गजुरेलले फेसबुकमा उनीहरूको तस्बिरसहित लेखेका छन्, ‘हार्दिक श्रद्धाञ्जली विवेक पंगेनी। तपाईं दुईको अमर प्रेम युगौँसम्म सम्झिइरहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad