समाज


रविविरुद्ध मुद्दा दर्ता गर्ने आज अन्तिम दिन, आजै दर्ता होला त?

रविविरुद्ध मुद्दा दर्ता गर्ने आज अन्तिम दिन, आजै दर्ता होला त?

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८१ शुक्रबार ८:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। 

अहिले आफूहरू यसैको अन्तिम तयारी गरिरहेको जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, 

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्।   

आज त मुद्दा दर्ता गर्ने अन्तिम दिन हो क्यार, आजै दर्ता होला त?

नेपालखबरको जिज्ञासामा उनले भनिन्, ‘हो, हामी म्यादभित्रै मुद्दा दर्ता गराउँछौँ।’

आज दर्ता हुन सकेन भनेचाहिँ के हुन्छ नि? 

नेपालखबरको दोस्रो प्रश्नमा उनले त्यही कुरा दोहोर्‍याइन्, ‘केही हुँदैन, हामी म्यादभित्रै दर्ता गराउँछौँ।’

रवि पक्राउ परेकै प्रकरण पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा उनका व्यावसायिक साझेदार छविलाल जोशी पक्राउ परेको शुक्रबार (आज) ९० दिन पूरा हुँदै छ। जोशी गत असोज ६ गते पक्राउ परेका थिए।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अभियुक्त पक्राउ परेको ९० दिनभित्र अदालतमा दर्ता गराइसक्नुपर्ने कानुनी व्यवस्था छ। अर्थात् अभियुक्तलाई ९० दिनभन्दा बढी हिरासतमा राख्न पाइँदैन। 

पछिल्लोपटक अर्थात् आठौँपटक यही पुस २ गते जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उक्त म्याद आजै राति १२ बजे सकिँदै छ। रवि कात्तिक २ गते पक्राउ परेका भए पनि सोही प्रकरणमा पहिलो आरोपित पक्राउ परेको दिनदेखि गणना हुन्छ।  

कास्की प्रहरीले यही पुस १ गते रविसहित ५१ जनलाई प्रतिवादी बनाउँदै सहकारी ठगी, स‌ंगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना बचतकर्ताले राखेको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप लामिछानेलाई लागेको छ। उनी गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए।

उक्त प्रकरणमा लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङ विरुद्ध पनि मुद्दा दर्ता गर्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad