कोरोना भाइरस (कोभिड–१९) बाट मंगलबारसम्म विश्वभरि १ लाख ८१ हजार मान्छे संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार सो भाइरसबाट सबैभन्दा बढी युरोप प्रभावित देखिएको छ।
युरोपेली देशमध्ये इटाली बढी प्रभावित छ। कोरोना संक्रमणका कारण इटालीमा मंगलबारसम्म २ हजार १७७ जनाको मृत्यु भएको छ। यो संख्या चीनपछि सबैभन्दा धेरै हो। चीनमा ३ हजार २१८ जनाले ज्यान गुमाएका थिए।
नेपालमा छैनन् संक्रमित
सरकारी तथ्यांकअनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमित कोही छैनन्। केही अगाडि एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। ती व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका छन्। नेपालमा अहिलेसम्म टेकूस्थित राष्ट्रिय प्रयोगशालामा ४७८ सय जनाको परीक्षण भएको छ। राष्ट्रिय प्रयोगशाला नेपालमा कोरोना भाइरस भए नभएको नमुना परीक्षण गर्ने एक मात्र स्थान हो।

नेपालले विदेशी पर्यटकको आगमनलाई कडाइँ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने विदेशी नागरिकले ७ दिनको स्वास्थ्य प्रमाणपत्र देखाएपछि मात्र नेपाल प्रवेश गर्न पाउँछन्। त्यस्तो प्रमाणपत्र नहुनेलाई विमानस्थलबाटै फिर्ता पठाइने गरेको छ।
कोरोनाबाट भारतमा तेस्रो मृत्यु
कोरोना भाइरसबाट भारतको महारष्ट्रमा मंगलबार एक व्यक्तिको निधन भएको छ। योसँगै भारतमा कोरनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। डब्लुएचओका अनुसार भारतमा संक्रमितको संख्या १२० छ। यसअघि दिल्ली र कर्नाटकमा दुई जनाको ज्यान गएको थियो।
Shares

प्रतिक्रिया