एमाले नेता महेश बस्नेतविरूद्ध उजुरी दिएर चर्चामा आएकी शोभा पाठक फेरि पक्राउ परेकी छन्।
उनलाई प्रहरीले काठमाडौँ जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको हो।
राजकुमार त्रिपाठीको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले नेपालखबरलाई जानकारी दिए।
उनले फेसबुकमा गालीगलौजयुक्त सामग्री राखेको र गालीबेइज्जती हुने खालका अभिव्यक्ति दिएको आरोप त्रिपाठीले लगाएका छन्। उक्त जाहेरीमा रहेर प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको थियो। उनीमाथि प्रहरी वृत्त स्वयम्भूले साइबर अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको छ।
यसअघि पनि उनलाई साइबर ब्युरोले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो। त्यतिखेर सामाजिक सञ्जालमार्फत चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका उनी पक्राउ परेकी थिइन्।
धादिङको ज्वालामुखी गाउँपालिका– ७ घर भएकी उनको वास्तविक नाम जानुका पाठक रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार, ३१ वर्षीया शोभाले आर्थिक लाभका निम्ति विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गर्ने गरेको उजुरीमा उल्लेख छ।
उनले महेश बस्नेतविरूद्ध यौन शोषण र बलपूर्वक भ्रुणहत्याको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। तर, प्रहरी र सरकारी वकिलले बस्नेतविरुद्ध मुद्दा चल्न सक्ने आधार नदेखिएको भन्दै फाइल तामेलीमा राख्ने निर्णय गरेका थिए।
Shares

प्रतिक्रिया