ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्न लागिएको बताएका छन्।
मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनको लागि भारतबाट विद्युत खरिद गर्न लागिएको बताए। उनले पुस महिनादेखि नै विद्युत खरिद गरिने जानकारी समेत दिए।
साँझको बेला भारतले चार घण्टा दिनसक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको बताए। उनले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा छलफल गरिने जिकिर गरे।
गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको उनको भनाइ छ।
मन्त्री खड्काले गत वर्षको भन्दा साढे ३ सय मेगावट जति यस वर्ष उत्पादन थप हुने भए पनि हिउँदमा कुल क्षमताको ४० प्रतिशत मात्रै उत्पादन हुने भएकाले 'पिक आवर'मा समस्या पर्ने बताए।
Shares

प्रतिक्रिया