समाज


प्रहरीमा ३ डीआईजीको दरबन्दी खाली, अझै २ जनाको अवकाशपछि मात्र बढुवा गरिने

बढुवाको लाइनमा ०५३ का गुप्तचर र ०५४ को टोली
प्रहरीमा ३ डीआईजीको दरबन्दी खाली, अझै २ जनाको अवकाशपछि मात्र बढुवा गरिने

उजिर कार्की
मंसिर ३०, २०८१ आइतबार २२:४२, काठमाडौँ

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी अवकाश भएका छन्। डीआईजीको उमेर हदका कारण अपराध अनुसन्धान विभागमा कार्यरत चन्द आइतबारदेखि अनिवार्य अवकाश भएका हुन्। 

यससँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको पद संख्या तीन पुगेको छ। यसअघि डीआईजी दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस भइसकेका छन्। उनीहरुको स्थानमा पनि बढुवा गर्न बाँकी छ। 

तर सरकारले तत्कालै डीआईजी बढुवाको प्रक्रिया अगाडि नबढाउने भएको छ। अबको १५ दिनपछि थप दुई पद रिक्त हुने भएकाले एकैसाथ ५ जना डीआईजी बढुवा गर्ने तयारी सरकारको छ। 

हालै मात्रै एआईजीमा सिफारिस भएका बोहरा १५ दिनपछि नै अवकाश हुनेछन्। काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्रचार्य पनि पुस १५ गतेदेखि अनिवार्य अवकाश हुनेछिन्। उनीहरु दुई जनाको अवकाशपछि हालका दुई डीआईजीहरु एआईजीमा बढुवा हुनेछन्। 

त्यसपछि रिक्त डीआईजीको संख्या ५ पुग्नेछ। अनि, एकसाथ ५ जना डीआईजीमा  बढुवा गर्ने सरकारको तयारी छ। आकांक्षीहरु धेरै भएकाले कोटा थपिएपछि एकसाथ बढुवा गर्ने तयारी भएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए।

गुप्तचरबाट आएका र ०५४ को टोली प्रतिस्पर्धामा 
सरकारले एक साताअघि मात्रै ८ जना डीआईजीमा बढुवा गरेको थियो। डीआईजीमा बढुवा हुने तीनजना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची हुन्। तर ५ जना भने २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा भर्ना भएर पछि प्रहरीमा आएका टोलीका हुन्। गुप्तचरबाट आएका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक डीआईजीमा बढुवा भइसकेका छन्। 

अब रिक्त हुने स्थानमा यो ब्याचका अधिकारीहरु पनि प्रतिस्पर्धामा छन्। यस्तै २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र राष्ट्रिय अनुसन्धानमै भर्ना भएका तर पछि प्रहरीमा ल्याइएका टोलीका पनि केही अधिकारीहरु छन्। 

२०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारी डीआईजीमा बढुवा भइसकेका छन्। उनीहरुकै ब्याचीहरु पनि अहिले प्रतिस्पर्धामा छन्। 

राष्ट्रिय अनुसन्धान विभागमा २०५३ सालमा भर्ना भएको टोली र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएको टोलीका अधिकारीहरु प्रतिस्पर्धामा छन्। 

यी दुवै टोलीका ३२ जना अधिकारीहरु २०७९ असारमा एसएसपीमा बढुवा भएका थिए। तीमध्ये ९ जना डीआईजी भइसकेका छन्। केही अवकाशमा गइसकेका छन्। 

तर बाँकी रहेका अधिकारीहरु डीआईजीमा बढुवा हुन लबिइङ गरिरहेका छन्। 

यसअघि बढुवा गर्दा एसएसपीको वरीयताक्रम अनुसार नै बढुवा गरिएको थियो। अब पनि त्यसै गर्ने सम्भावना छ। तर ५ जना डीआईजीका लागि ६ जना एसएसपी मुख्य दाबेदार देखिएका छन्।
 
एसएसपी ओमबहादुर राना अब डीआईजीमा बढुवा हुने एसएसपीको पहिलो नम्बरमा छन्। यस्तै ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया मुख्य दाबेदार देखिएका छन्। 

अब यी ६ जना मध्येबाटै ५ जना डीआईजी बढुवा गर्ने तयारी छ। वरीयता अनुसार नै बढुवा गरिए थपलिया छुट्नेछन्। तर थपलिया पनि अहिले नै बढुवा हुनका लागि चर्को लबिइङमा छन्। उनलाई बढुवा गरिए आचार्य र पौडेल मध्ये एक जना छुट्नेछन्।

यही ब्याचका र सँगै एसएसपी भएका अरु अधिकारीहरु पनि छन्। तर उनीहरु भने अहिले नै एसएसपीमा बढुवा हुने सम्भावना कम छ।

एसएसपीहरु माधवप्रसाद श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला र दिपककुमार बस्नेत पनि यही टोलीका हुन्। 

यस्तै जयराम सापकोट, सुरेन्द्रबहादुर गुरुङ, संजीव शर्मा दास र शारदाप्रसाद चौधरी पनि २ वर्ष अघि नै एसएसपी भएको टोलीका हुन्। तर उनीहरु भने आगामी चैतमा मात्रै डीआईजीमा बढुवा हुने सम्भावना छ। ३० वर्षे सेवा अवधि तत्काल हटेर कार्यान्वयनमा नआएमा आगामी चैतमा प्रहरी महानिरीक्षक कुँवरसहित ५ एआईजी र अधिकांश डीआईजीहरु पनि अवकाशमा जानेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad