समाज


खोटाङमा रूखले किच्दा १८ वर्षका किशोरको मृत्यु

खोटाङमा रूखले किच्दा १८ वर्षका किशोरको मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार ५:४२, काठमाडौँ

गोलिया काठ काट्ने क्रममा रूखले किचेर खोटाङको  हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा मिलन दमाई रहेका प्रहरीले जनाएको छ।

रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको हो। 

गोलिया काठ सङ्कलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी–२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए। 

“उनी हप्ता दिनअघि यहाँ काम गर्न आएका हुन्। ज्यालादारी कामका लागि आएका किशोरको रूखले किचेर मृत्यु भएको जानकारी आएको छ”, उनले भने, “मृत्युको खबर पाएपछि प्रहरीलाई जानकारी गर्यौँ। जिल्लाबाट प्रहरी टोली आएर मुचुल्का उठाएपछि शव परीक्षणका लागि जिल्ला पठाइएको छ।”

रूखले किचेर किशोरको मृत्यु भएको खबर स्थानीयले दिएपछि सोही आधारमा घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

खार्पास्थित भडाँरेमा एक हप्ता दिनअघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको स्थानीयले बताएका छन्। दश स्थानीय तह रहेको जिल्लाबाट स्थानीयको निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad