रवि लामिछानेलाई देशका पाँचवटा जिल्ला घुमाएर बयान लिएको प्रहरीका हाकिम नै अहिले राष्ट्रिय मानव अधिकार आयोगमा ‘बयान’ दिन जानुपरेको छ।
चितवनबाट रातारात पोखरा लगिएको विषयमा आयोगले सोमबार नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) एवं अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङसँग जानकारी लिएको छ। तामाङसँगै प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता दानबहादुर कार्की पनि आयोगमा उपस्थित भएका थिए।
करिब डेढ घण्टाको सोधपुछपछि आयोगले उनीहरूलाई बिदा गरेको थियो। यति मात्र होइन, आयोगका सदस्य मनोज दुवाडीले प्रहरीका ती उच्च अधिकृत सम्मिलित टोलीलाई भने, ‘कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुुनुपर्नेमा आयोगको चासो रहेको छ।’
रवि लामिछानेबारे आयोगको चासो, एआईजी तामाङसँग लियो जानकारी
खासमा आयोगले सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई नै बोलाएको थियो। तर, कुँवरले मातहतका अधिकृतहरूलाई पठाए। कुँवर उपस्थित नभएपछि आयोगले उनलाई नै बोलाएर थप बुझ्ने भनेको छ।

‘पोखराबाट पनि प्रतिवेदन प्राप्त भइसकेको छ,’ आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले नेपालखबसँग भने, ‘यसमा आईजीपीसँगै केही कुरा बुझेर निष्कर्षमा पुग्नुपर्ने देखिएकाले उहाँलाई नै बोलाएका छौँ।’
रविले पोखरामा आयोगको टोलीसँग प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको, अमानवीय शैलीमा चितवनबाट पोखरा लगिएको र प्रहरी महानिरीषकले समेत अपशब्द प्रयोग गरेर फोनबाट प्रहरी अधिकृतहरूलाई गाली गरेको सुनेको भनी विवरण टिपाएका छन्।
पोखराबाट प्राप्त विवरणलाई आयोगले प्रहरी नेतृत्वसँग सोधपुछ गरी ‘भेरिफाई’ गर्नुपर्ने भएको प्रवक्ता पोखरेलले बताए।
रवि लामिछानेकी श्रीमती निकिता पौडेलले गत शुक्रबार आयोगमा उजुरी दिन पुगेकी थिइन्। उनले रविमाथि अमानवीय व्यवहार भएको भन्दै छानबिन तथा दोषीमाथि कारबाही माग गरेकी छन्।
उता चितवन प्रहरीले भने आइतबार एक विज्ञप्ति निकाली रविको सुरक्षाकै लागि राति नै पोखरा लैजानुपरेको स्पष्टीकरण दिएको छ।
रविलाई चितवन लगेपछि रास्वपाका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय घेराउ गरेका थिए। त्यसक्रममा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप पनि भएको थियो। रविको अड्डासारको औचित्य पुष्टि गर्न प्रहरीले यिनै विवरणलाई अघि सारिरहेको छ।
‘प्रहरीले चितवनबाट राति पोखरा लैजानु आफैँमा सही वा गलत भन्ने हाम्रो दृष्टिकोण हुँदैन,’ प्रवक्ता डा पोख्रेल भन्छन्, ‘तर, राति नै लैजानुपर्ने के कारण भएको हो? दिउँसो लैजाँदा के फरक पर्थ्यो? अर्को विकल्प नै नभएको हो भने त्यो के स्थिति थियो? यस्ता प्रश्न उठेका छन्।’
यी प्रश्नको जवाफ खोज्न र महानिरीक्षक कुँवरको निर्देशनमा दुर्व्यवहार भए–नभएको विषयमा निर्क्योल गर्न आयोगले खोजिरहेको छ। यसबारे प्रहरी महानिरीक्षकसँग बुझ्न खोज्दा उनी उपस्थित नभएपछि आयोगले थप गम्भीर रूपमा लिएको छ।
यता प्रहरी महानिरीक्षक कुँवर भने सोमबार गृहमन्त्री रमेश लेखकसँगै सुर्खेत पुगेका थिए, जहाँ कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएको थियो। आयोगमा उपस्थित भएका एआईजी तामाङले पनि आईजीपी कुँवर उपत्यकाबाहिरको कार्यक्रममा जानुपरेकाले उनको तर्फबाट आफू उपस्थित भएको बताएका थिए।
सुर्खेतबाट फर्किएपछि अब कुँवर आयोगमा उपस्थित हुन्छन् कि हुँदैनन्? उपस्थित भएपछि उनले के जवाफ दिन्छन् र आयोगले के निष्कर्ष निकाल्छ? रविको अड्डासार प्रकरणको छिनोफानो त्यसपछि मात्र हुनेछ।
रविलाई भने सोमबार वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पर्सा लगिएको छ। गत मंगलबार काठमाडौँबाट चितवन लगेर त्यहाँ २ दिनसम्म बयान लिइएको गियो। त्यहाँ बयान सकेर बुधबार राति पोखरा लगिएको थियो।
Shares

प्रतिक्रिया