आज (डिसेम्बर १) देखि नेपालमा औपचारिक रूपमा विन्टर अर्थात् हिउँदयाम लागेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हिजो नोभेम्बर ३० सम्म नेपालको मौसममा पोस्ट-मनसुन थियो। गत अक्टोबर १२ तारिखका दिन मनसुन बाहिरिएपछि पोस्ट मनसुन सुरु भएको थियो।
‘अब आज डिसेम्बर १ बाट विन्टर अर्थात् हिउँद सुरु भएको छ’, उनले आइतबार बिहान नेपालखबरसँग भने, ‘आजदेखि नेपालको मौसम औपचारिक रूपमा हिउँदमा प्रवेश गरेको छ।’
मौसमविद् अधिकारीका अनुसार यो सिजन डिसेम्बरदेखि फेब्रुअरीसम्म ३ महिना रहन्छ, त्यसपछि प्रि-मनसुन सुरु हुन्छ।
हिउँदमा चिसो बढ्दै जाने, हिउँदे वर्षा हुने, हिमाली क्षेत्रमा हिउँ पर्ने हुन्छ। ‘हिउँदेबालीका लागि यो अनुकूल समय हो’, मौसमविद् अधिकारीले भने।
प्रि-मनसुन सिजन अंग्रेजी महिना जुनको आधा समयसम्म रहन्छ। त्यसपछि फेरि मनसुन अर्थात् बर्खा सुरु हुन्छ। नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो। तर यसभन्दा २/४ दिन अघिपछि हुने गरेको छ। यस वर्ष मनसुन औसत मितिभन्दा ३ दिनअघि जुन १० तारिखका दिन नेपाल भित्रिएको थियो।
Shares

प्रतिक्रिया