राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप १५ दिन हिरासतमा बस्ने भएका छन्।
कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा (कास्की) लगिएका लामिछानेलाई हिरासतमा राख्न अदालतले पाँचौँपटक म्याद थप गरिदिएको हो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका लामिछानेलाई यसबीचमा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि बयान लिइएको छ। अब उनलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानका क्रममा बयानका लागि ल्याइँदै छ।
त्यसअघि प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा इजलासमा न्यायाधीश र लामिछानेबीच केहीबेर सवालजवाफ भएको थियो।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उनले आफूमाथि अन्याय भएको र राजनीतिक कारणले थुनिएको गुनासो गरेका थिए।
सवालजवाफको बेहोरा यस्तो छ-
रवि : यतिखेर मैले यहाँहरूलाई भन्ने भनेको, मेरो अन्तिम आशा भनेकै सम्मानित अदालत मात्रै हो। किनभने यो सुरुवातदेखि अहिलेसम्म बढी नै राजनीतिकरण भएको मुद्दा हो। म त अलि आवाज भएकै मान्छे हुँ, ठाउँठाउँमा बोलिरहन्छु। तर, राज्यले सहकारीपीडितका लागि कहीँ बोलेको छैन। उहाँहरूमाथि थप अन्याय भएको छ।
श्रीमान्, हामीले त्यातिखेर नै प्रतिवेदनमार्फत कसरी सहकारीको समस्या समाधान गर्न सकिन्छ भनेर प्रतिवेदन दिएका थियौँ। मन्त्री हुँदा मैले फास्ट ट्रयाकबाट अध्यादेश ल्याएर भए पनि समस्या सम्बोधन गर्नुपर्छ भनेर मन्त्रिपरिषद्मा पत्र लेखेको थिएँ, जुन अघि यहाँ पढियो। मन्त्रिपरिषद्को त्यही बैठकबाट बाहिर निस्केर सरकारका प्रवक्ताले फस्ट ट्रयाकबाट सम्बोधन गर्छौँ भनेर भन्नुभएको थियो। त्यसको पहल नै मैले गरेको थिएँ।
श्रीमान्, एउटा सञ्चारकर्मीको रूपमा मेरो कर्म जहिल्यै सार्वजनिक नै छ। म पब्लिक सर्भिलेन्समा सधैँ बसेको मान्छे हुँ। टेलिभिजन खोल्दाखेरि लुकेर खोलिएको थिएन। त्यतिखेर सार्वजनिक ऐलान गरेर यी सञ्चालकहरूसँग म काम गर्दै छु, यिनको केही उजुरी छ भने हाम्रा टेलिभिजनका पत्रकार त्यसबारे समाचार बनाउन पनि स्वतन्त्र छन् भनेकै थियौँ। कसैले देखाउनुभयो भने एक मिनेटभित्र सार्वजनिक बहसमा ल्याउँछु पनि भनेकै हौँ। ती गलत रहेछन् भने कि तिनीहरू हुन्नन् कि म हुन्न भनेको भिडिओ अहिले पनि टेलिभिजनको रेकर्डमा छ। प्रधानमन्त्रीले उद्घाटन गरको टेलिभिजनमा जीबी राईले म लगानीकर्ता हुँ, मैले राम्रोसँग गरेको हुँ, जिम्मेवारी लिन्छु भनेको कुरा अहिलेसम्म पनि रेकर्डमै छ। गोर्खा मिडियामा आएको भनिएको पैसा बैंकमार्फत (प्रवाह) भएको हो। ७ महिनामा 'वर्ल्ड क्लास' टेलिभिजन बनाउने जिम्मेवारी लिएको हो र मेरो विज्ञता त्यही भएको हुनाले त्यसरी काम गर्दै गइयो।
मलाई नै कारण बनाएर, मेरै विषयमा कुरा उठेको हुनाले मलाई नै केन्द्र बनाएर संसदीय छानबिन विशेष समिति बनाइयो। त्यसकारण प्रतिवेदनको मध्यबिन्दुमा म नै थिएँ। सरकार परिवर्तन भयो, मानिसको बोली परिवर्तन भयो। त्यसखेर संसदमा प्रधानमन्त्रीजीले बोल्दा आफ्नो मनबाट बोल्नुभएको होइन। सबै अनुसन्धान गरेका निकायलाई बोलाएर, बुझेर उहाँले त्यो कुरा बताउनुभएको थियो। अहिलेका प्रधानमन्त्रीज्यूले पनि त्यसैगरी बुझेर बोल्नुभएको थियो। प्रहरी प्रमुखले सबै निकायहरूलाई बोलाएर, सोधेरै भन्नुभएको हो।महान्यायाधिवक्ताको कार्यालयले पनि खोजेर, बुझेरै पत्र दिएको हो।
जीबी राईलाई पक्राउ गर्नुपर्ने कुरामा सबैभन्दा बढी काम गर्ने जनप्रतिनिधिको रुपमा म आफूलाई दाबी गर्न चाहन्छु श्रीमान्। मैले मलेसियाका गृहमन्त्रीसँग दुईपटक टेलिफोन सम्पर्क गरेँ। उहाँले दिएकै उपायअनुसार जीबी राईको पासपोर्ट खारेज गर्नु यही अदालतमा निवेदन आएको हो। तर, सम्मानित अदालतबाट आदेश आउन सकेन। जीबी राईलाई पक्राउ गर्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिँदा जमिनमुनि भए पनि आकाशमा भए पनि पक्रन्छु भनेर अभिव्यक्ति दिने मानिस पनि मै हुँ, बचतकर्ताको रकम फिर्ता गराउनको लागि सबैभन्दा बढी प्रतिवेदन दिनेमा म आफैँ संलग्न भएको हो। सार्वजनिक रूपमा, अहिले त यो यो विषय आउँछ भन्ने मलाई थाहा थिएन नि।
त्यो अवधिमा श्रीमान्, अरू मानिसहरूलाई न्याय दिने कार्यक्रमको स्वरूप मेरो थियो। कयौँ मानिसहरू आउँथे त्यहाँ न्याय माग्नको लागि। त्यहाँ मैले काम गर्दा देशभरका सयौँ, हजारौँ सहकारी पीडितहरूको विषय उठाएको रेकर्ड अझै पनि छ। तर यही सहकारीका मानिसहरू कहिल्यै पनि तपाईँको टेलिभिजनमा हाम्रो पैसा आएको हो, हामी पीडित भयौँ भन्न आएनन्। मैले टेलिभिजन छोडेर गएको एक-डेढ वर्ष कहिल्यै मैले मेराविरुद्ध कुनै कुरा सुन्न परेन। न कसैले समाचार बनायो, न कसैले प्रहरीमा भने।
न्यायाधीशः यो अनुसन्धानको चरण हो। अहिले दोषी भनिहालेको छैन।
रवि: हैन मैले त्यसबारे किन बताउन खोजेको भने...
न्यायाधीशः अनुसन्धानको चरण हो, निर्दोष पनि हुन सक्नुहुन्छ नि!
रवि: बुझेको छु। अलिकति भोकल भएका कारण समस्यामा परेँ तर श्रीमान् हिजो सडकमा मिटरब्याजपीडितको आवाज उठिरहँदाखेरि, सदनमा मिटरब्याज पीडितको समस्या समाधान नहुने हो भने सदन चल्न सक्दैन भनेर सबैभन्दा ठूलो आवाज उठाएको मैले हो। त्यसको समाधानतर्फ लिएर जान भूमिका खेलेको मैले हो। मैले भ्रष्टाचारमा ५ वर्षे हदम्याद हुन्छ भने हाम्रो लासमाथि टेकेर जानुपर्छ भनेर सबैभन्दा ठूलो भोकल उठाएका कारणले त्यसलाई संसदीय समितिले खारेज गरिदियो।
अहिले पनि देशमा यत्रा राजनीतिक मुद्दाहरू छन् श्रीमान, त्यस्ता कुराहरूमा पहल हुनुपर्ने तर सदन चलेको छैन। प्रधानमन्त्रीको घमण्डका कारण घटनाक्रम फेरिइरहेको छ, बढिरहेको छ तर म यहाँ बसेको १ महिना ७ दिन भयो, त्यसको ६ दिन मात्रै सदुपयोग भयो। बाँकी दिन केही गरिएको छैन। श्रीमान्, म भागेर कहीँ जान्नँ।
म संसारका राम्रो जिन्दगी बाँचेर आएको मान्छे, यो देशमा केही गर्छु भनेर, अमेरिकी पासपोर्ट बुझाएर, यो देशको सेवामा लागेको मान्छे म भागेर कहाँ जाउँला र श्रीमान्? म जतिबेला पनि उपस्थित हुन सक्छु।
मेरो कुनै नियत छैन। अनुसन्धानमा सघाउने मेरो नियत छ तर ममाथि राजनीतिक प्रतिशोध साँधिएको छ। यो हुँदाहुँदै पनि यसो गर्छौँ भनेर भनिएका भिडियोहरू सार्वजनिक छन् श्रीमान्। ठाउँठाउँमा मुद्दा लगाइदिन्छु, योपछि अर्को मुद्दा लगाइदिन्छु, ९० दिन लगाइदिन्छु भनेका भिडियोहरू सार्वजनिक छन्।
श्रीमान्, बहस सँधैभरि असाध्यै राम्रो हुन्छ तर आदेशले सधैँ निराश बनाइदिन्छ। म आज अत्यन्त आशावादी भएर श्रीमानतर्फ हेरिरहेको छु।
न्यायाधीशः बीचको अवस्था हो यो, यसमा सुरुको अवस्थामा छुट्टै हुन्छ। अनुसन्धानको अवस्थामा छुट्टै हुन्छ। म्याद थप्ने अवस्थामा अर्कै हुन्छ। यसलाई त्यही रूपमा बुझ्नुपर्छ। अहिले दोषी भएँ भनेर निराश हुनुपर्ने अवस्था छैन। भोलि निर्दोष हुन सक्नुहुन्छ। यो पक्रियालाई चाहिँ सघाउनुपर्यो।
रवि: हस् श्रीमान्। तर मलाई थुनिरहनुपर्छजस्तो लाग्दैन श्रीमान्। सबैभन्दा धेरै मतदाताको मन जितेर प्रतिनिधि सभा सदस्य भएर आएको छु। म आज आशाको साथ आएको छु श्रीमान्।
न्यायाधीशः अहिले म दोषी भएँ नि भनेर सोचिहाल्नु पनि पर्दैन, अहिले निर्दोष छु भनेर भनिहाल्नु पनि पर्दैन।
रवि: जेजे बाहिर भनिएका छन्, त्यहीत्यही पुग्दै जाँदा, ठाउँठाउँमा मुद्दा, मान्छेलाई फरार गर्दै मुद्दा लगाउँदै जाँदाखेरि अपमान भएको छ श्रीमान्। यहाँ नभने कहाँ भनौँ?
न्यायाधीशः अपमान त हुँदैन नि। तथ्यमा आधारित भएर काम गर्छौँ।
रवि: श्रीमान्, आशा र भरोसा नै सम्मानित अदालत हो।
न्यायाधीश: कसले पोल्योभन्दा पनि अनुसन्धानले जे देखियो त्यही हुन्छ।
रवि: म सघाउनका लागि तयार छु तर अलि धेरै हैरानी भयो श्रीमान्।
न्यायाधीशः त्यो हुन सक्छ। त्यही भएर चाँडै सक्न खोजेको।
रवि: खै श्रीमान्। देशभरि मुद्दा लगाउँदै जाने। म कसरी के भन्नु र? श्रीमान् आफैँले याद गर्नुहोला। जे भइरहेको छ, तपाईँले मनन् गर्नुहोला श्रीमान्।
न्यायाधीशः थुनछेकको बेलामा विचार गर्न सकिन्छ। यो अनुसन्धानचाहिँ ठिक छैन, यो ठिक छ भनेर अहिले भन्ने अवस्था छैन।
रवि: म अनुसन्धानलाई सघाउँछु, ममाथिका प्रतिशोधसँग पनि लडौँला। मलाई सम्मानित अदालतप्रति धेरै विश्वास छ।
न्यायाधीशः थुनछेकको क्रममा छोड्ने-राख्ने कुरा हुन सक्छ। तर तपाईँलाई यहाँबाट छोडे पनि अर्को ठाउँमा यही प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेको छ, त्यहाँबाट पक्राउ भइहाल्नुहुन्छ।
रवि: श्रीमान्, अन्याय भएको छ ममाथि। त्यही भएर तपाईँसँग डिबेट गर्न पनि डर लाग्छ। तर तपाईँमाथि पूर्ण आशावादी छु श्रीमान्।
न्यायाधीशः मैले छोडेर के गर्नु? तपाईँलाई समाएर फेरि अर्को जिल्ला लगिहाल्छ। अनुमति दिएको छ अरू जिल्लाबाट पनि। मैले छोडेर कुनै औचित्य नै हुन्न। कमसे कम यहीँबाट लानुहुन्छ, बयान गराउनुहुन्छ, यो केसको क्रममा ती केस पनि सकिन्छन्।
रवि: त्यस्तो भएछ भने म जान्छु नि श्रीमान्। तर मलाई बाहिर रहेर अनुसन्धानमा सहयोग गर्न दिनुहोस्। मलाई अनुसन्धानभरि पोखरा नछोड भन्नुहुन्छ भने पनि छोड्दिनँ।
Shares

प्रतिक्रिया