ad ad

समाज


मदिरा सेवनबाट ६ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा, दुई जना पक्राउ

मदिरा सेवनबाट ६ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा, दुई जना पक्राउ

शैलेन्द्र महतो
फागुन ३०, २०७६ शुक्रबार १२:२७,

घरेलु मदिरा सेवनबाट ६ जनाको मृत्यु भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२, रमद‌ैया गाउँमा मदिरा उत्पादन तथा बिक्रीवितरण गर्ने एक महिला र एक पुरुष छन्। दुवै जनालाई प्रहरीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो।

‘मदिरा बिक्रीवितरण गर्ने गरेको आशंकाको आधारमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं’, ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले भने, ‘घटनामा अन्यको पनि संलग्नता हुन सक्ने हाम्रो आशंका छ।’

प्रहरीले दुवैजनाको नाम खुलाएको छैन। स्थानीयका अनुसार गाउँमै मदिरा उत्पादन गर्ने रामानन्द साह र तारापट्टी बाली भन्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको हो।

होलीको अवसरमा अत्यधिक घरेलु मदिरा सेवन गर्दा रमदैयाका ६ जनाको ज्यान गएको छ भने ३ जना सिकिस्त भएका छन्। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा, राजु महरा र विजय सदा छन्।

एउटै बस्तीकै ६ जनाको मदिरा सेवनबाट मृत्युु भएपछि सिंगो रमदैया गाउँ नै शोकमा डुबेको छ। स्थानीयबासीले मदिरा उत्पादन तथा बिक्रीवितरण गर्नेमाथि कडा कारबाहीको माग समेत गरेका छन्।

प्रहरीले अवैध घरेलु मदिरा नष्ट र बिक्रिवितरण निषेध अभियान चलाउने गरेको पनि उत्पादन र बिक्रीवितरण भने रोकिएको छैन। प्रहरीले रक्सी व्यवसायीसँग महिनावारी उठाएर उल्टै संरक्षण दिनेगरेका कारण गाउँ–गाउँमा मदिरा उत्पादन भइरहेको सर्वसाधारणको गुनासो छ।

घटनापश्चात् पक्राउ परेका दुवै जनालाई प्रहरीले एक वर्षअघि पनि पक्राउ गरेर छाडेको थियो। ईलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरका तत्कालीन प्रहरी निरीक्षक अमिर दाहालले उनीहश्रलाई पक्राउ गरेका थिए।

त्यतिबेला क्षिरेश्वरनाथ नगरपालिका– २ का वडाध्यक्ष श्याम यादवले मदिरा उत्पादन तथा बिक्रीवितरण नगर्ने सर्तमा दुवैलाई छुटाएका थिए। तर, वडाध्यक्षकै संरक्षणमा उनीहरुले आफ्नो व्यवसाय जारी राखेको स्थानीयहरुको भनाइ छ।

प्रहरी निरीक्षक दाहालको बम विस्फोटमा परि मंसिरमा मृत्युु भएपछि झनै मदिरा बिक्रीवितरण गर्नेको मनोबल बढेको थियो।

याे पनिघरेलु मदिरा पिउँदा धनुषामा एकै गाउँका ६ जनाको मृत्यु, ३ सिकिस्त

१० महिनाअघि मात्र धनुषाकै एकै गाउँका ६ जनाको अवैध घरेलु मदिरा सेवनबाट ज्यान गएको थियो। १३ र १४ असार २०७५ मा धनुषाको कमला नगरपालिका ५ का ६ जना स्थानीयको विषाक्त घरेलु मदिराबाट मृत्यु भएको थियो ।

 ४० वर्षका रामनाथ पासवान, ५० वर्षका रामचन्द्र पासवान, ३६ वर्षका मणि पासवान, ४५ वर्षका सावीर अन्सारी, राजवीर महतो र गंगा पासवानको मृत्यु भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .