समाज


न्यायाधीशसँग घुस डिल गर्ने अधिवक्ता पोखरेललाई बार काउन्सिलको नसिहत, जोगियो प्रमाणपत्र

न्यायाधीशसँग घुस डिल गर्ने अधिवक्ता पोखरेललाई बार काउन्सिलको नसिहत, जोगियो प्रमाणपत्र

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार २१:१२, काठमाडौँ

नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)ले न्यायाधीश राजकुमार कोइरालासँग घुस डिल गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसिहत दिएको छ।

व्यवसायी इच्छाराज तामाङको मुद्दामा सेटिङ गर्ने क्रममा पोखरेलले तत्कालीन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग टेलिफोनमै घुस डिल गरेका थिए।

व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि भएको घूस लेनदेनबारेको अडिओ २०७९ असोज ८ गते सार्वजनिक भएको थियो। करिब १० मिनेटको उक्त अडिओमा कानुन व्यवसायी पोख्रेल र कोइरालाबीच न्यायाधीश इच्छाराजलाई छुटाउनेबारे मोलमोलाइ गरिएको थियो।

उक्त अडिओमा पोख्रेलले इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्ने र काम मिलाए बापत आफूले दुई करोड रूपैयाँ दाबी गर्ने बताएका थिए। अडिओ सार्वजनिक भएपछि न्याय परिषद्ले कोइरालाउपर छानबिन गरेको थियो।

तर, न्याय परिषद्ले उनको पद जोगाउँदै निगरानीमा रहने गरी सचेत गराउने निर्णय गरेको थियो। उनले घुस खाएको प्रमाणित नभएको, अडिओमा भएको कुराकानीअनुसार आदेश पनि नगरेको तर न्यायाधीशको पदीय मर्यादाविपरीत मुद्दामा संलग्न कानुन व्यवसायीसँग कुराकानी गरेको देखिएको न्याय परिषद्को छानबिनको निष्कर्ष थियो। 

कानुन व्यवसायीहरूको आचार संहिता अनुगमन गर्ने निकाय कानुन व्यवसायी परिषद् हो। यसका अध्यक्ष महान्यायाधिवक्ता हुन्छन्। 

विवादित न्यायाधीशमाथि छानबिन गरिएपछि कानुन व्यवसायी परिषद्लाई अधिवक्ता पोखरेलमाथि पनि छानबिन गर्न दबाब परेको थियो। 
कानुन व्यवसायी परिषद्ले पनि पोखरेलको प्रमाणपत्र जोगाउँदै नसहित दिने निर्णय गरेको हो ।

‘यस परिषद् अन्तर्गतको अनुशासन समितिको मिति २०८१।०७२५ गते बसेको बैठकले अधिवक्ता रुद्र प्रसाद पोखेल (प्र.प.न.५४५६) लाई कानुन व्यवसायीको आचारसहिता, २०५१ को नियम ३ (१)(क)(ङ) र (छ) बमोजिमको कसुरमा नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा ११ को उपदफा (३) को देहाय खण्ड (क) बमोजिम नसिहतको सजाय गर्ने’ निर्णयमा उल्लेख छ।

पोखरेलले २०५३ सालमा अधिवक्ताको प्रमाणपत्र लिएर वकालत गर्न थालेको परिषद्को अभिलेखमा देखिन्छ। पछिल्लो समय उनले आरपी पोखरेल एन्ड एसोसिएट नामक ल फर्म सञ्चालन गरिरहेका थिए। काठमाडौँको अनामनगरमा यसको कार्यालय थियो।

पोखरेल चन्डेश्वर श्रेष्ठ नेतृत्वको नेपाल बार एसोसिएसनमा २०७६ देखि २०७९ सम्म कोषाध्यक्ष थिए। नेकपा एमालेनिकट मानिने उनी पाटन बार एसोसिएसनमा २०७०-७३ सम्म अध्यक्ष थिए।

एमालेको कानुन विभाग सदस्य पनि भइसकेका उनको घर झापाको गौरादह हो, जुन एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ। 

इच्छाराज तामाङ पनि एमालेका पूर्वसांसद हुन्। दोस्रो संविधानसभामा एमालेबाट समानुपातिक सांसद चुनिएका तामाङ हाल कारागारमा छन्।

विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध बार र बेन्च बहिष्कारमा उत्रिएका बेला पोखरेल राणाको समर्थनमा प्रस्तुत भइरहेका थिए।

पूर्वसांसद तामाङ सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धीकरण लगायत कसुरका अभियुक्त हुन्। उनीसहित ४२ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा विचाराधीन छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले २०७८ मंसिरमा यो मुद्दा दायर गरेको थियो।

सम्पत्ति शुद्धीकरण मुद्दामा भने उनी दोषी ठहर भइसकेका छन्। विशेष अदालतले गत वर्षको माघमा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष र  र उनकी श्रीमती सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय हुने फैसला गरेको छ। बिगो र जरिवाना गरी तामाङ परिवारबाट ५ अर्ब ५२ करोड रुपैयाँ असुल उपर गर्नुपर्ने ठहर अदालतको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad